निशा राई
धरान, माघ २१ गते । पाहुना टोली भुटानको आरटिसी फुटबल क्लब (रोयल थिम्पु) धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ४–१ गोलले हराउँदै भुटानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
भुटानका लागि नर्वौँ मिनेटमा सोनाम योस्सीले सुरुवाती गोल गर्नुभयो । ५३औँ मिनेटमा सोनाम जुगल चावाजाङ, ६०औँ मिनेटमा कर्मा जाम्सो र ७०औँ मिनेटमा नयडा योसेलले गोल गर्दै भुटानलाई फराकिलो जित दिलाउनुभयो ।
इटहरीका लागि ७७औँ मिनेटमा विदेशी खेलाडी एलेक्सल सान्त्वना गोल फर्काउनुभयो । भुटानका सोनम योस्सी खेलको म्यान अफ दि म्याच बन्दै १० हजार रुपियाँ पाउनुभयो ।
फाइनल यात्राका भुटानले चर्च ब्वाइज क्लब काठमाडौँको सामना गर्नेछ । मङ्गलबार काठमाडौँको एनआरटी र केएफटिसी झापाबिच प्रतिस्पर्धा हुनेछ । माघ २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ ।