• २१ माघ २०८१, सोमबार

सरकारले उच्च प्राथमिकता दिएर निजगढ विमानस्थल बनाउनुपर्छ : मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे लाेकार्पण समारोहलाई सम्बोधन गर्दै ।

काठमाडौँ, माघ २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ ।

सोमबार सरोकार दर्पणको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निजगढ विमानस्थल ठुलो महत्त्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने बताउनुभयो । 

उहाँले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरू रहेको भन्दै मास्टरप्लान अनुसार विमानस्थल बनाउनुपर्ने बताउनु भयो । उहाँले निजगढ विमानस्थल नबनि फास्टट्याको पूर्णता नहुने उल्लेख गर्नुभयो । 

महत्त्वाकाङ्क्षाको चाङ नेपालको नेतृत्व कर्ताहरूसँग रहेको भए पनि पूरा गर्न कठिनाइ रहेको बताउनुभयो । उहाँले मध्य पहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हामीले धेरै कुरा भन्दा रहेछौँ, गर्न नसक्दा रहेछौँ । हामी महत्त्वाकाङ्क्षाको चाङ काँधमा राख्दा रहेछौँ । तर समाधानको बाटो, प्रतिफलको अन्तिम स्वरूप दिन सक्दा रहेनछौँ । मध्य पहाडी राजमार्गमा कुनै बेला १० वटा स्मार्ट सिटीको परिकल्पना गरियो । अहिले ५४ वटा पुगेछन् । विभिन्न राजमार्गमा । अहिले ५४ वटा स्मार्ट सिटी सम्पन्न गर्न त निकै कठिन छ नै । १० वटा सम्पन्न गर्न पनि गाह्रो भइसक्यो ।’’

उहाँले निजगढ एयरपोर्ट निकै ठुलो महत्त्वको एयरपोर्ट भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ निजगढ एयरपोर्ट साँच्चै नै मास्टरप्लान अनुसार बन्ने हो भने दुनियाँमा देखाउन मिल्ने खालको एयरपोर्ट बन्छ । नेपालका लागि मात्र होइन । त्यसमा विभिन्न बाधाहरू छन् । सरकारले त्यसलाई उच्च महत्त्व दिइरहनुपर्छ र दिइरहेको छ । किनभने यो फास्ट ट्रयाक बनेकै त्यो पूरा गर्नका लागि हो । ५/६ खर्ब बजेटमै फास्ट ट्रयाक कम्प्लिट हुँदैछ । फास्ट ट्रयाक बनाएकै १ घण्टाभित्र काठमाडौं आउनसक्ने भन्नका लागि हो । सरकारले यसलाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्नुपर्छ । वन क्षेत्रका कारणले बाधा छ की, अदालतका कारणले बाधा छ । कतिपय ठाउँमा अख्तियारका चिट्ठीका कारणले बाधा छ की ? यो अवस्थालाई चिर्नुपर्छ ।’’

मन्त्री पाण्डेले विकास र पुरातत्व, वन क्षेत्र जोगाउने कुराको सन्तुलन मिलाउनुपर्ने बताउनुभयो ।