• ३ साउन २०८१, बिहिबार

प्रविधिसँगै अघि बढे स्मार्ट गोरखापत्रको यात्रा सफल हुन्छ : अध्यक्ष सुवेदी

blog

कार्यक्रममा धारण राख्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी साथमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र प्रशिक्षक रमण भट्टराई । तस्बिरः सागर बस्नेत

गोदावरी, ललितपुर, जेठ १३ गते। गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले प्रविधिको गति र समयको मागअनुसार अघि बढे स्मार्ट गोरखापत्रको यात्रा सफल हुने बताउनुभएको छ। 

ललितपुरको गोदावरीमा शुक्रबार आयोजित दुई दिने नेतृत्व र सकारात्मक सोचको अभ्यास विषयक कार्यशालामा बोल्दै अध्यक्ष सुवेदीले यस्तो बताउनुभएको हो। संस्थानमा कार्यरत विभागीय प्रमुख तथा शाखा प्रमुखका लागि कार्यशाला आयोजना गरिएको हो।

गोरखापत्रको शक्ति र पूँजी भनेको पाठक भएको उल्लेख गर्नुहुँदै अध्यक्ष सुवेदीले पाठकको अभिरुचि अनुसार सामग्री पस्कनुपर्ने, संस्थानको जनशक्तिले काम गर्ने प्रणाली र प्रक्रियालाई पनि स्मार्ट बनाउनुपर्नेमा जोड दिनुभयो। 

“गोरखापत्रसँग १२२ वर्षको गौरवमय इतिहास छ, सिंगो युगको प्रतिनिधित्व छ, सभ्यता र संस्कृति बोकेको छ। तर, आधुनिक संसारको डिजिटल गतिसँग हामी हिँड्न सकेका छैनौं”, उहाँले भन्नुभयो, ‘‘अब हामीले डिजिटलको गतिसँगै अघि बढ्नुपर्छ, आफ्नो क्षमता र अनुभवलाई स्मार्ट गोरखापत्रको यात्रामा सदुपयोग गर्नुपर्छ।” 


संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले परिणाम देखिने गरी काम गर्न विभागीय प्रमुख तथा शाखा प्रमुखलाई आग्रह गर्नुभयो। पेशागत आचरण, अनुशासन र संस्थानप्रतिको इमान्दारिता जरुरी रहेको भन्दै उहाँले सकारात्मक सोच र समूहगत भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। 

गोरखापत्र संस्थानका कर्मचारी प्रशासन प्रमुख बिक्रमबाबु राईले कार्यशालाको उद्देश्यबारे चर्चा गर्दै यहाँ सिकेका ज्ञानलाई व्यवहारमा लागू गरेर परिवर्तनको सन्देश दिन सकिने उल्लेख गर्नुभयो। 

कार्यक्रममा रमण भट्टराईले समय र तनाव व्यवस्थापन तथा सामूहिक कार्यका बारेमा प्रस्तुति दिनुभएको थियो। शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको कार्यशाला शानिवारसम्म चल्नेछ।