• २१ माघ २०८१, सोमबार

चार वर्षमा पनि बनेन सडक

blog

लमजुङ समाचारदाता

लमजुङ, माघ २१ गते । दुई वर्षमा सक्नुपर्ने लमजुङको दोर्दी गाउँपालिका केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सडक निर्माण चार वर्षसम्म पनि पूरा हुन सकेको छैन । गण्डकी प्रदेश सरकारबाट पालिका केन्द्र जोड्ने योजना अन्तर्गत विनियोजन भएको बजेटमा निर्माण गर्न थालिएको सो सडक दुई वर्षमा सम्पन्न भइसक्नुपर्ने हो तर निर्माण सुरु भएको चार वर्षभन्दा बढी समय बित्दा पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । सडक निर्माण सम्पन्न हुन नसक्दा यहाँका बासिन्दाले आवतजावतमा सास्ती खेप्नु परेको छ ।

पूर्वाधार कार्यालय लमजुङका अनुसार सडकको निर्माण सम्झौता कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले गरेको छ । सो निर्माण कम्पनीसँग २०७९ असार २ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २०७७ असार ३ गते सम्झौता भएको थियो । ७.१२१ किलोमिटर कालोपत्रे गर्नका लागि २६ करोड २९ लाख छ हजार २२५ रुपियाँमा ठेक्का लागेको थियो । हालसम्म ७० प्रतिशत मात्र काम भएको पूर्वाधार कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार तीन पटकसम्म म्याद थप गर्दा पनि ठेकेदारले निर्माण काममा गति दिन सकेको छैन ।

सम्झौता अनुसार २०७९ असार २ गतेभित्र कालोपत्रे गरिसक्नुपर्ने भए पनि कोभिडका कारण निर्माण सुरु गर्न ढिलाइ भएको भन्दै ठेकेदार कम्पनीले २०७९ पुस महिनासम्म म्याद थप गरेको थियो । सो समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः २०८० असार २९ गतेसम्मलाई म्याद थप गरियो । त्यो समयमा पनि निर्माण सम्पन्न नभएपछि २०८१ मङ्सिर २८ गतेसम्मलाई म्याद थप गरिएको थियो । त्यसयता हालसम्म पनि म्याद थप हुन नसकेको सूचना अधिकारी जोशीले बताउनुभयो ।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१, उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने दुरीसम्म कालोपत्रेको योजना छ । सडकको दुई ठाउँ गरी एक हजार ११३ घनमिटर ढलान गरिने छ । गाउँपालिका केन्द्र जोड्ने मुख्य सडकको निर्माणमा ढिलाइ हुँदा पालिकावासीलाई समस्या भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । सडकको काम छिटो सक्न आफूले पटक पटक ताकिता गरे पनि निर्माणले गति लिन नसकेको उहाँले बताउनुभयो । ठेकेदार कम्पनीले नालाको काम सकेर सडकतर्फ बल्ल काम थालेको छ ।