नवलपरासी समाचारदाता
कावासोती, माघ २१ गते । दिनप्रतिदिन एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि सर्वत्र चिन्ता गर्न थालिएको छ । पूर्वी नवलपरासीमा यस आर्थिक वर्षको सात महिनामा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । जिल्लामा यो आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोतव्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । यो जिल्लामा एक वर्षमा पाँच सङ्क्रमितको मृत्यु भइसकेको छ ।
जिल्लामा हाल नयाँ र पुराना गरी १२० एचआइभी सङ्क्रमित रहेको तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी नवलपरासीमा आव २०७७/७८ मा ८२ जना २०७८/७९ मा १०७ जना र २०७९/८० मा १२० जनामा एचआइभी सङ्क्रमण देखिएको छ ।
सन् २०३० सम्म एचआइभीको सङ्क्रमणलाई अन्त्य गर्ने सरकारको नीति भए पनि पूर्वी नवलपरासीमा एचआइभी सङ्क्रमितको सङ्ख्या भने बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । स्वास्थ्य कार्यालयमार्फत पालिकाले पनि नीतिगत योजना बनाएर एचआइभी सङ्क्रमितको स्वास्थ्योपचारदेखि जीविकोपार्जनलगायतका कामा ध्यान दिनुपर्ने, रोग लुकाएर बसेका कैयौँ रोगीलाई हेला नगरी सचेतना जगाउन स्थानीय तहदेखि नै योजना बनाउन आवश्यक रहेको स्वास्थ्यविज्ञको तर्क रहेको छ ।