• ३ साउन २०८१, बिहिबार

सञ्चारमाध्यमको सहयोगले निर्वाचन सोचेभन्दा सफल रह्योः आयुक्त तुलाधर

blog

काठमाडौं, जेठ १३ गते । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ सञ्चारमाध्यमको सहयोगका कारण सोचेभन्दा सफल भएको बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनका लागि वैशाख १ गतेदेखि सञ्चालित आयोगको ई—बुलेटिन प्रकाशन समूहसँग आज आयोगमा आयोजित समीक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचन सूचना सम्प्रेषण गर्नमा ई–बुलेटिनमा आवद्ध समूहले प्रभावकारी काम गरेकोभन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो । 

आयुक्त डा तुलाधरले छिटपुट घटनाबाहेक मुलुकभर एकैपटक भएको स्थानीय निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण ढंगले सम्पन्न भएको चर्चा गर्नुभयो । यसको सफलताको श्रेय सञ्चार माध्यम तथा सम्बद्ध सबै पक्षलाई जाने उहाँले बताउनुभयो । “निर्वाचन सफल बनाउन सञ्चार माध्यम, कर्मचारी संयन्त्र र सञ्चार टिम सबैको सक्रिय भूमिका रह्यो, आगामी दिनमा पनि सहयोगको अपेक्षा आयोगले गरेको छ” आयुक्त डा. तुलाधरले भन्नुभयो, “छोटो समयमा राम्रो काम भएको छ, सीमित स्रोत साधनकाबीच पनि ई-बुलेटिनको काम प्रभावकारी भएको महशुस गरेका छौं ।”

स्रोतको कमीका कारण स्थानीय तह सदस्य निर्वाचनमा निजी सञ्चार माध्यमलाई विज्ञापनमा सहयोग गर्न नसकिएको स्मरण गर्नुहुँदै आयुक्त डा. तुलाधरले आगामी निर्वाचनमा सबैलाई पुग्नेगरी आर्थिक व्यवस्थापनको पहल हुने विश्वास दिलाउनुभयो । आयोगबाट जाने सूचना एकद्वार प्रणालीबाट जानसके अझ प्रभावकारी हुने उहाँले बताउनुभयो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी  सूचना र तथ्याङ्कलाई स्रोत साधनले भ्याएसम्म विश्वसनीय रुपमा उपलब्ध गराउने प्रयास गरिएको बताउनुभयो । स्थानीय तह सदस्य निर्वाचनले धेरै कुरा सिकाएकाले आगामी निर्वाचनमा थप सुधार गरेर आयोग अघि बढ्ने उहाँले विश्वास दिलाउनुभयो । 

समीक्षा बैठकमा आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ, यज्ञप्रसाद भट्टराई, उपसचिवहरु कमल भट्टराई, आदेश खड्का, बुलेटिन प्रकाशन समितिका सदस्यहरुको सहभागिता थियो । ई-बुलेटिन प्रकाशन समितिमा सञ्चारसम्बन्धी विज्ञका साथै गोरखापत्र र राससका प्रतिनिधिहरुको सहभागिता थियो । 

गत वैशाख १ गतेदेखि शुरुभएको ई-बुलेटिन जेठ १२ गतेसम्म प्रकाशन भएको छ । यस अवधिमा जम्मा ४३ अङ्क बुलेटिन प्रकाशन भएको छ । निर्वाचनलाई केन्द्रीत गरी गरिएको प्रकाशन जेठ १३ गतेदेखि बन्द भएको छ । बुलेटिन प्रकाशन समितिको संरक्षकमा आयोगका सचिव गोकर्णमणि दुवाडी, संयोजकमा सहसचिव तथा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल रहनुभएको थियो ।