• २१ माघ २०८१, सोमबार

पाँच हजारभन्दा बढी शिक्षक अपुग

blog

सुर्खेतमा सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने वीरेन्द्रनगरस्थित जन नमुना मावि ।

ललित बसेल

सुर्खेत, माघ २१ गते । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षक अपुग रहेका छन् । कर्णालीमा प्राथमिक तह, निम्नमाध्यमिक तह, माध्यमिक तह र उच्च माध्यमिक तहमा गरी कुल पाँच हजार ५४९ जना शिक्षक अपुग रहेका हुन् । विद्यार्थीको अनुपातमा शिक्षक अपुग भएपछि कर्णालीको साक्षरता दरसमेत कमजोर रहेको पाइएको हो । 

कर्णालीको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै निम्नमाध्यमिक तहका शिक्षक अपुग रहेका छन् । यसमा दुई हजार ६९९ जना शिक्षक अपुग छन् । कर्णालीमा कुल दुई हजार ९३१ सामुदायिक विद्यालयमा ११ हजार ८६५ दरबन्दीमा मात्र शिक्षक छन् । हुनुपर्ने सङ्ख्या १७ हजार ३८४ हो । मन्त्रालयका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार ५४९ शिक्षक अपुग रहेको बताउनुभयो । 

यसै गरी ९२७ प्राविमा ६४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार ७९३ हो भने अहिले आठ हजार १४९ जना मात्र छन् । यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार ६९९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने चार हजार ५६० शिक्षक हुन् भने अहिले एक हजार ८६१ जना कार्यरत छन् ।

यसै गरी ६०५ माविमा एक हजार ७४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ शिक्षक हुन् भने अहिले एक हजार २७६ जना शिक्षक मात्र छन् । २५९ उच्च माविमा ४५७ शिक्षक अपुग छन् । यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने हो भने अहिले ५७९ जना कार्यरत रहेको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत सुनारले जानकारी दिनुभयो । 

उहाँका अनुसार कर्णालीमा विशेष गरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ । कानुन अनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन जना, निमावि तहमा चार जना, मावि तहमा पाँच जना र उच्च मावि तहमा चार जना हुनु पर्छ । कर्णालीमा शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् । निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनु परेको उहाँले बताउनुभयो । बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ ।

शिक्षक अपुग भएपछि गुणस्तरीय शिक्षामा चुनौती थपिएको छ । शैक्षिक प्रावधान अनुसार एक शिक्षकले हिमालमा ४० विद्यार्थी, पहाडमा ४५ विद्यार्थी र तराईमा ५० विद्यार्थी पढाउनुपर्ने हुन्छ । सो अनुसार शिक्षक अभाव भएपछि समस्या थपिएको हो । 

हिमालतिरका विद्यार्थी पहाड तथा तराईमा झर्दा शिक्षक उता बढी र विद्यार्थी कम भएका छन् । तराईमा विद्यार्थी बढी तर शिक्षक कम देखिएका छन् । शिक्षक दरबन्दी मिलान गर्न सकिएमा अपुग शिक्षकको समस्या ५० प्रतिशत कम गर्न सकिने वरिष्ठ शिक्षा अधिकृत सुनारले दाबी गर्नुभयो तर शिक्षक पेसागत सङ्घ सङ्गठनका कारण शिक्षक दरबन्दी मिलान हुन सकेको छैन । कर्णालीमा शिक्षक व्यवस्थापन नै प्रमुख समस्या भएको उहाँको भनाइ छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला पनि शिक्षक दरबन्दी मिलान गर्न सके शिक्षक अपुगको समस्या केही कम हुने बताउनुहुन्छ । वीरेन्द्रनगरस्थित जन नमुना माविका अध्यक्ष कोइरालाले शिक्षक अपुग हुँदा गुणस्तरीय शिक्षा प्रदानमा चुनौती भएको जनाउनुभयो । उहाँले कर्णालीका एक हजार दुई सयभन्दा बढी विद्यालयमा सरकारको शिक्षक अनुदान नै नदिएको जानकारी दिँदै विद्यार्थी सङ्ख्या धेरै हुने तर शिक्षक अपुग हुने समस्या भोग्नु परेको उल्लेख गर्नुभयो । शिक्षा ऐन, दरबन्दी मिलानजस्ता काम सरकारले गर्न सके धेरै हदसम्म शिक्षकको समस्या समाधान हुने उहाँको भनाइ छ ।