जुम्ला समाचारदाता
जुम्ला, माघ २१ गते । जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको पर्यटकीय केन्द्र तातोपानी वडाको आम्दानीको स्रोत बन्न थालेको छ । सो वडाको जर्मीमा रहेको तातोपानी आयस्रोतको राम्रो माध्यम बनेको वडा कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व उठाउन कठिन भइरहेको अवस्थामा तातोपानीबाट मासिक एक लाख रुपियाँ आम्दानी भइरहेको छ । वडाध्यक्ष चन्द्रमान बुढाका अनुसार तातोपानी अहिले वडाको आम्दानीको स्रोत बन्दै गरेको बताउनुभयो । उहाँ अनुसार २०८० मङ्सिर ५ देखि २०८१ पुस मसान्तसम्म तातोपानीको धाराबाट १२ लाख ४२ हजार पाँच सय रुपियाँ सङ्कलन भएको छ । राति नुहाउने पर्यटक पनि बढेकाले कर्मचारी बढाउनुपर्ने आवश्यकता देखिएको छ । तातोपानी धारा व्यवस्थापन समितिका इन्चार्ज धनबहादुर रावतका अनुसार तातोपानीमा दैनिक करिब ५० देखि एक सय जनासम्म नुहाउन आउने गरेका छन् ।
तातोपानीमा स्वदेशी तथा विदेशी पर्यटकसमेत आउने गरेका छन् । वडा कार्यालयले तातोपानीमा अहिले दुई जना कर्मचारी खटाएको छ भने दुई जना थप्ने तयारी गरेको छ । यो एक वर्षको अवधिमा जिल्ला बाहिरका सात हजार तीन सय जना, जिल्लाभित्रका १४ हजार दुई सय जना र गाउँपालिकाभित्रका १० हजार तीन सय जना गरी कुल ३१ हजार आठ सय जनाले तातोपानीमा नुहाएका छन् । अझ हिउँदमा तातोपानीमा नुहाउनेको सङ्ख्या बढ्ने गर्दछ । यहाँ तातोपानीमा नुहाएपछि विभिन्न रोग निको हुन्छ भन्ने धारणासमेत रहेको छ ।
कालीकोटको पलाँता फागोटीगाउँका रञ्जना बमले यो बाटो भएर यात्रा गर्दा तातोपानीमा नुहाएर जाने गरेको बताउनुहुन्छ । जुम्लामा स्थानीय सरकारको आन्तरिक राजस्व सङ्कलन कम भइरहेको समयमा अहिले तातोपानी धारा भने स्थानीय सरकारको आम्दानीको स्रोतका रूपमा अगाडि बढेको छ । यसलाई थप व्यवस्थित गर्नका लागि पहल भइरहेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।