• १ चैत २०८१, शुक्रबार

आधुनिक खोरले माडीवासी ढुक्क

blog

माडी अयोध्यापुरीकी रिता गर्जामगरले बनाउनुभएको सुरक्षित आधुनिक खोर ।

वसन्त पराजुली 

नारायणगढ, माघ २१ गते । दुई वर्षअघि आफ्नै खोरमा पालेको माउबाख्रो बाघले मारेपछि रिता गर्जामगरले आधुनिक तथा सुरक्षित खोर बनाउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको सामीप्यमा रहेको चितवन माडी आयोध्यापुरीकी रिता सुरक्षित र आधुनिक खोरमा बाख्रा पाल्न थालेपछि अहिले बाघ चितुवाले बाख्रा मार्न नपाएको बताउनुहुन्छ । “सुरक्षित खोर नहुँदा हामीलाई बाघ र चितुवाले दिनु दुःख दिएथे । मेरो घरबाट खोर नै रित्तो बनाउने गरी तीन वटा बाख्रा बाघले तानेर लगेपछि आधुनिक खोर बनाउन बाध्य भएकी हुँ,” उहाँले थप्नुभयो, “नयाँ खोर बनाएको दुई वर्ष भयो, अहिले त ढुक्क भएको छ । कम से कम राति आनन्दले निद्रा लागेको छ ।”

नयाँ खोर नबनाउन्जेल आफूहरूले राति बाघ तथा चितुवा घरमा आउँदा होहल्ला गरेर लखेट्ने गरेको उहाँले सुनाउनुभयो । “बाख्रा त बचाइएको छ तर अहिले बाघ र चितुवाले घरमा पालेका कुकुर पो लान थाल्यो,” उहाँले भन्नुभयो । रिताको घरबाट दुई हप्ताअघि मात्रै जापनिज माउ कुकुर चितुवाले लगेको पनि उहाँले जानकारी दिनुभयो । अहिले उहाँको खोरमा १२ वटा बाख्रा रहेको र सुरक्षित भएको पनि उहाँले जनाउनुभयो । 

बाघ, चितुवा जस्ता मांसाहारी जनावरले घरपालुवा जनावर मारेर आहारा गर्ने माडीमा मात्रै होइन, निकुञ्जको मध्यवर्ती क्षेत्रकै समस्या हो । निकुञ्जका सूचना अधिकारी अविनाश मगर विगत पाँच वर्षमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा मात्रै ५४९ बाख्रा बाघ र चितुवाले मारेको बताउनुहुन्छ । 

“बाघ र चितुवाले गाउँमा पसेर बाख्रा मार्नु स्वाभाविक हो । यही समस्या भएर नै किसान आफैँले सतर्कता अपनाएर नयाँ आधुनिक खोर बनाएका छन् । यसले बाख्रा बचाउन सजिलो भएको हामीले पनि अनुभव गरेका छौँ,” उहाँले भन्नुभयो । 

पहिला किसानले परम्परागत रूपमा काँसले बार्ने, कपडाले बारेर बनाएको खोरमा बाख्रा पाल्थे । जहाँ बाघ, चितुवा जस्ता जनावरले सजिलै बाख्रा खाइदिन्थे । अहिले बनाएको आधुनिक खोरमा चारैतिर फलामे जालीले बारिने हुँदा त्यो समस्या कम छ । टाँड बनाएर चारैतिर काठ र तारको जालीले बारेर बिचमा बस्न मिल्ने गरी खोर बनाइन्छ । किसान रिता गर्जामगर यस्तो खोरमा बाख्रा पाल्न थालेपछि बड्कौँला र पिसाबसमेत तल बगेर जाने हुँदा खोर सुक्खा र ओभानो हुने गरेको बताउनुहुन्छ । “आधुनिक खोरमा दिसापिसाब पनि छुट्टिँदा बाख्रामा चिसोका कारण खोकी लाग्ने, रुघा लाग्ने समस्या पनि भएको छैन,” उहाँले भन्नुभयो । 

यस्तो खोर बनाउन ५० हजार रुपियाँ खर्च लाग्ने पनि उहाँले जनाउनुभयो । यसरी लाग्ने खर्चमध्ये आधा रकम निकुञ्जको मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले उपलब्ध गराउने गर्दछ । चितवन राष्ट्रिय निकुञ्ज अयोध्यापुरी उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक समितिले किसानलाई आधुनिक खोर बनाउन १० पाता टिन, ११ मिटर तारजाली र तीन जना मिस्त्री सहयोग गर्ने गरेको जानकारी दिनुभयो ।

“नेपाल सरकारले पनि बाघको सङ्ख्या दोब्बर बनाउने अभियान थाल्दै गर्दा १० वर्षको अवधिमा चितवनमा बाघको सङ्ख्या तेब्बरले बढ्यो । त्यसको प्रत्यक्ष असर मध्यवर्ती क्षेत्रका किसानका खोरमा पालिएका बाख्रामा पर्ने देखिएपछि सुरक्षित खोरको अवधारणा अघि सारिएको हो,” उहाँले भन्नुभयो । 

“यो नितान्त मानव र वन्यजन्तुबिच द्वन्द्व न्यूनीकरणका लागि हो । यसले उद्देश्य अनुसारको काम पनि गरिरहेकै छ,” उहाँले भन्नुभयो । उहाँले अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका कार्यक्षेत्रमा रहेका १८१ जना किसानले आधुनिक खोर बनाएको जानकारी दिनुभयो । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने माडी क्षेत्रमा मात्रै ६१८ जना किसानले यो अवधिमा बाख्राको आधुनिक खोर बनाएका छन् । अध्यक्ष गायक भन्नुहुन्छ, “पहिला पहिला बाख्रा कराउँदा डर हुन्थ्यो । अहिले कम से कम मध्यवर्तीका बासिन्दा बाघ र चितुवाले आफ्नो खोरको बाख्रा केही गर्न सक्दैन भनेर ढुक्कसँग सुत्न सकेका छन् ।”