गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २१ गते । प्रेस काउन्सिल नेपालले कालो सूचीमा राखेर कारबाही गरेका चार वटा सञ्चार माध्यमको कारबाही फुकुवा गरेको छ । काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार दर्ता र सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच वटा फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ ।
काउन्सिलले आइतबार विज्ञप्ति जारी गरी टिभी अन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोस्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमको कालो सूचीको कारबाही फुकुवा गरिएको जनाएको हो । चालु आर्थिक वर्षको साउनयता कालो सूचीमा परेका १० वटामध्ये चार वटा सञ्चार माध्यमले क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता जनाएपछि कालो सूची फुकुवा भएको छ ।
काउन्सिलको निर्देशन अवज्ञा गर्ने अन्य छ वटा सञ्चार माध्यम एबिपिक्राइम न्युज डटकम, सेतोखरी डटकम, कोशीपोस्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोस्ट डटकम र नेपालकथा डटकमलाई थप कारबाही अगाडि बढाइएको छ । एबिपिक्राइम न्युज डटकम, दियोपोस्ट डटकम र हेर्दाहेर्दै डटकमलाई सूचीकरणबाट हटाइएको छ ।
पत्रकार आचारसंहिताको दायरामा बस्ने, गल्ती सच्याउन तयार भई सन्तुलित समाचार प्रवाह गर्ने प्रतिबद्धता सम्बन्धित सञ्चार माध्यमबाट आएपछि काउन्सिलले आफूले गरेको कारबाही फुकुवा गर्दै आएको छ ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती सच्याउने तत्परता राख्नु सञ्चार माध्यमको धर्म रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काउन्सिलले कारबाही मात्र गर्ने होइन, गल्ती महसुस गर्दै सही र तथ्यपूर्ण समाचार सामग्री दिने प्रतिबद्धता जनाउने सञ्चार माध्यमलाई कारबाही फुकुवा गर्छ, गर्दै आएको छ ।”
काउन्सिलमा चालु आर्थिक वर्षका माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ वटा उजुरी र एक वटा जनगुनासो दर्ता भएका छन् । तीमध्ये ५६ वटा गालीबेइज्जती, चरित्रहत्या, मानहानि, ८७ वटा गलत, भ्रामक, असन्तुलित, दुष्प्रचार, चार वटा बार्गेनिङ, नौ वटा हुबहु रहेको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले पत्रकारिता गर्ने उद्देश्यले सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउन ‘युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि’ बनाई सोही अनुसार अनुगमन र अभिमुखीकरण गर्दै आएको छ ।
मिडियाद्वारा सञ्चालित युट्युब च्यानल र फेसबुक पेजसमेत नियमन भइरहेको छ । विज्ञप्तिमा भनिएको छ, “यस अवधिमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडिया अन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल युट्युब च्यानल चार, फेसबुक पेज एक र अनलाइन पाँच वटालाई निर्देशन र चार वटालाई सचेत गराइएको छ ।”