• २३ माघ २०८१, बुधबार

सम्पदाको सौन्दर्यीकरणमा तिनै तह

blog

वराहक्षेत्र मन्दिरपरिसरमा गरिएको सौन्दर्यीकरण ।

 बाबुराम कार्की 

वराहक्षेत्र, माघ २१ गते  । सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा तिनै तहका सरकार ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्त्व बोकेका धार्मिक सम्पदाका संरक्षण, प्रवर्धन र सौन्दर्यीकरणका काममा लागेका छन् । 

नगर क्षेत्रका धार्मिक स्थलमा दैनिक रूपमा देशविदेशबाट धार्मिक पर्यटक दर्शनका लागि आउने गरेका छन् । भारतको विहार प्रदेशसँग नजिकको दुरीमा रहेको छ वराहक्षेत्र नगर । यहाँ विहारबाट उल्लेखनीय रूपमा तीर्थालु, व्रतालु तथा धार्मिक पर्यटक वराहक्षेत्र, चतरा धाम, औलिया मठ र रामधुनी मन्दिरको दर्शन गर्न आउने गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।  

वराहक्षेत्र नगरपालिकामा रहेको औलिया मठ क्षेत्र, वराहक्षेत्र मन्दिर र चतरास्थित प्राचीन हरिद्वार क्षेत्र धार्मिक पर्यटकको मुख्य आकर्षण बन्दै आएको स्थानीय प्रह्लाद थापा बताउनुहुन्छ । धार्मिक मान्यता, अभिलेख, पुराण, विश्वाससँगै ऐतिहासिक, पुरातात्त्विक  तथा पौराणिक महत्त्वको हिसाबले सनातन जगत्मा वराहक्षेत्र धाम नै धार्मिक देवस्थलका रूपमा परिचित भएकैले तीर्थालुहरू आउने गरेका छन् । पछिल्लो समय यिनै धार्मिक सम्पदा क्षेत्रको संरक्षण, प्रवर्धन र सौन्दर्यीकरण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकार लागि परेका हुन् । 

ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्त्वको हिसाबले प्रसिद्ध क्षेत्रको संरक्षण, प्रवर्धन र सौन्दर्यीकरणको काम गर्न वराहक्षेत्र नगरपालिकाले सक्दो प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख रमेश कार्कीका अनुसार चालु आर्थिक वर्षमा बहुबर्से योजना अन्तर्गत चतराको औलिया मठ र बराहक्षेत्र मन्दिर क्षेत्रमा सौन्दर्यीकरणसँगै संरचना निर्माण र कुम्भ परिसर क्षेत्रमा सौन्दर्यीकरणको काम भइरहेको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको दुई करोड ४८ लाख बजेटबाट पैदलमार्ग, पार्किङ, धुनी, विवाह मण्डप, शौचालय, प्रवेशद्वार निर्माणाधीन छन् । सोही क्षेत्रमा आगामी आवका लागि समेत सौन्दर्यीकरण तथा संरचना निर्माणमा पर्यटन विभागले काम गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ ।