• २० माघ २०८१, आइतबार

रूपन्देहीका ५९ हजार किशोरी एचपिभी खोप अभियानमा जोडिँदै

blog

अभिमुखीकरणमा उपस्थित विद्यालयका किशोरीहरू । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, माघ २० गते । रूपन्देहीका करिब ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । रूपन्देहीमा दुई चरणमा गरी सम्पन्न हुने खोप अभियानमा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका गरी ५८ हजार ८ सय ९८ किशोरीलाई खोप अभियानमा सहभागी गराइने भएको हो ।

पहिलो चरणमा माघको २२ देखि २९ गतेसम्म बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका र मायादेवी गाउँपालिकाका ३१ हजार ९५६ किशोरीलाई खोप लगाइने छ ।

त्यस्तै अभियानको दोस्रो चरणमा फागुन १ देखि ६ गतेसम्म देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतीया गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिकाका २६ हजार ९४२ जना किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

कार्यालयका अनुसार अभियानका लागि रूपन्देहीमा ६ सय ८५ खोप केन्द्र तोकिएको छ । यसैबिच पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाएर जोखिमबाट बच्न किशोरीहरूसँग आग्रह गरिएको छ ।

सरकारले सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोपका बारेमा किशोरीहरूलाई अभिमुखीकरणमार्फत जानकारी गराउन बुटवलमा बृहद अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल अर्बुद रोग निवारण संस्था रूपन्देहीले बुटवलमा विद्यालयका किशोरीहरूलाई शनिबार अभिमुखीकरणमार्फत पाठेघरको मुखको क्यान्सर रोक्न एच.पि.भी. खोपको विषयमा जानकारी दिएको हो । 

अभिमुखीकरणमा प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. नारायणबहादुर जिसीले पाठेघरको मुखको क्यान्सर, एच.पि.भी. खोप तथा जोखिम न्यूनीकरण र प्रभावका बारेमा जानकारी दिँदै यो खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित हुन किशोरीहरूसँग आग्रन गर्नुभएको थियो । 

जनस्वास्थ्य अधिकृत उमा थापाले पाठेघरको मुखमा हुने क्यान्सरका कारण हुने मृत्युलाई घटाउन यो खोप प्रभावकारी हुने बताउनुभयो । 

नेपाल अर्बुद रोग निवारण संस्था रूपन्देहीका सभापति खिमबहादुर हमालले पाठेघरको मुखमा हुने क्यान्सरका कारण धेरै महिलाहरूले अकालमा ज्यान गुमाइरहेको अवस्थामा सरकारले त्यस विरुद्धको खोप अभियान सञ्चालन गरेकोले अभियानलाई प्रभाकारी बनाउन किशोरीहरूलाई अभिमुखीकरण कार्यक्रममार्फत सचेत बनाउने काम गरिएको बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा दुई सय बढी किशोरी सहभागी रहेको संस्थाका सचिव प्रजापाल गिरीले जानकारी दिनुभयो ।