• २० माघ २०८१, आइतबार

पुराना चौताराका रुख काट्नेलाई कारबाही

blog

सन्ताेष सुबेदी

कास्की, माघ २० गते । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र कोटिहोमका नाममा अनुमति बिना सयौँ वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी कटान गरिएको गुनासो तथा प्रमाणहरू प्राप्त गरेको छ । 

अनधिकृत रूपमा रुख कटान गर्ने कार्य कानुनतः दण्डनीय हुने कुरा सचेत गराउँदै रुख कटानमा संलग्न जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सार्वजानिक सूचना निकालेको छ ।

अनुमति बिना सार्वजनिक स्थानमा रहेका रुख तथा बिरुवाहरू कटान र बिक्री वितरण गर्न नपाइने सम्बन्धित सबैलाई जानकारी गराउँदै आफ्नो टोल छिमेकमा रहेका ऐतिहासिक चौतारी तथा रुख बिरुवाहरूको संरक्षणमा प्रतिबद्ध बन्न महानगरपालिका अनुरोध छ ।

महानगरपालिकाले अनुगमनका क्रममा काटिएका रुखहरूको विवरण सङ्कलन गरिरहेको र अनधिकृत रूपमा रुख कटान कार्यमा संलग्नको पहिचान गरी प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाउने व्यहोरा समेत सूचित गरिएको छ ।