गुणबहादुर रोका
सुलीकोट, माघ २० गते । गोरखाको अजिरकोट गाउँपालिका – ३ भच्चेकबाट खरीबोट अपुन हुँदै ओलाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ । अजिरकोट गाउँपालिकाको भच्चेक मुख्य पर्यटकीय गन्तव्य हुनुका साथै गोरखा क्षेत्र नम्बर २ अन्तर्गत अन्तिम गाउँ ओलाङसम्म सहज पुग्न ६.५० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।
पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको भच्चेक बजारबाट नजिकै रहेको ओलाङसम्म ट्रयाक मार्ग खुलाईता पनि बजेट अभावका कारण सडक कालोपत्रे हुन नसक्दा ओलाङवासीले सास्ती व्योहर्नु परेको थियो ।
अहिले गाउँपालिकाको विशेष पहलमा भौतिक मन्त्रालयअन्तर्गतको पूर्वाधार कार्यालय गोरखामार्फत कालोपत्रे गर्न लागेको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देबकोटाले जानकारी दिनुभयो ।
सडक कालोपत्रे हुने भएपछि आन्तिरिक तथा बाह्य पर्यटकहरु भच्चेकदेखि ओलाङसम्मका दर्जनौ होमस्टेहरुमा आर्गनिक खानेकुराको स्वाद चाख्न पाउने भएको अध्यक्ष देबकोटाको भनाइ छ । पर्यटकीय गन्तव्यको रुपमा विकास भएको ओलाङमा कालोपत्रे हुने भएपछि स्थानियहरु खुशी भएका छन् ।
सडक कालोपत्रे योजनाका लागि सिन्धुपाल्चोकको बैकुण्ठ एण्ड सप्लार्यस प्रालिसँग २०८१ साल असार १६ गते सम्झौता भएर काम अघि बढेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो । २०८३ साल असार १२ गते सम्पन्न गर्नुपर्ने कालोपत्रे सडकको काम तीव्र गतिमा काम भइरहेको उहाँको भनाइ छ ।
विशेष गरी झण्डै भच्चेकबाट ओलाङसम्म १२ किलोमिटर सडकमा पुग्न सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सामान गर्दै जोखिम र सास्तीपूर्ण यात्रा गर्दै आएकोमा ओलाङवासीहरुमा कालोपत्रे हुने भएपछि खुशी मिलेको छ । सडक कालोपत्रे भएपछि भच्चेकबाट ओलाङसम्म पुग्न जम्मा १५ मिनेटमा पुगिने भएको छ ।
पूर्वाधार कार्यालय गोरखाको १२ करोड ४१ लाख रुपियाँमा पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनी बिच ६.५० किलो मिटर सडक कालोपत्रे र एक साईडमा पक्की नाली बनाउनुपर्ने सम्झौता उल्लेख छ । बाटोको ९ मिटर चौडाई र सबग्रेड सबवेश, वेश फाईनल भएकाले समय सिमा भित्र नै कालो पत्रे सम्पन्न हुने विश्वास लिएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो ।