मीना कँडेल
कावासोती, माघ २० गते । हुप्सेकोट गाउँपालिका–५, धौबादीमा रहेको हावाबाट बिजुली निकाल्ने वायु ऊर्जा केन्द्र मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । एक दशकअघि धौबादीडाँडास्थित रुद्रपुरमा नमुना योजनाका रूपमा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खा घुमाएर टर्बाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकोमा टर्बाइनमा समस्या देखिएपछि अहिले पूर्ण रूपमा बन्द रहेको छ ।
एसियाली विकास बैङ्कको आर्थिक तथा प्राविधिक सहयोगमा नमुना योजनाका रूपमा २०६८ सालमा हावाबाट बिजुली निकालिएको थियो । निर्माण सम्पन्न भएपछि बैङ्कले स्थानीय सरकारलाई ऊर्जा केन्द्र हस्तान्तरण गरेको केही वर्ष पूरा क्षमतामा विद्युत् उत्पादन भए पनि टर्बाइन र ब्याट्रीमा खराबी आएपछि विगत चार वर्षदेखि बिजुली उत्पादन बन्द भएको छ ।
हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले दुई करोड रुपियाँभन्दा बढीको लागतमा निर्माण गरिएको परियोजनाबाट हावाका माध्यमले १० किलोवाट र सौर्य ऊर्जाबाट दुई किलोवाट गरी १२ किलोवाट विद्युत् उत्पादन गरिएको वायु ऊर्जा अहिले पूर्ण रूपमा बन्द रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संरचनाको उचित मर्मतसम्भार नगर्दा अहिले हावाबाट निकालिएको बिजुली बन्द भएको छ । हावाबाट बिजुली सञ्चालन हुँदा सो क्षेत्रमा उज्यालोका साथै पर्यटकीय केन्द्रका रूपमा समेत विकास भएको थियो ।”
रुद्रपुरका मीनबहादुर रानामगरले हावाबाट बिजुली उत्पादन गराएर यसलाई थप आकर्षित बनाउन सके पर्यटकको आगमनमा वृद्धि हुने बताउनुभयो । हावाबाट बिजुली निकाल्नका लागि टर्बाइनमा जडान गरिएको पङ्खा हावाको वेगले घुम्दा थप आकर्षक देखिन्थ्यो । यहाँ फोटो खिच्न तथा हावाबाट निकालिएको बिजुली अवलोकनका लागि विगतमा आन्तरिक पर्यटकको बाक्लै उपस्थिति हुने गरेको रानामगरले बताउनुभयो ।
वायु ऊर्जा बन्द भएपछि सौर्य ऊर्जाको भर पर्नु परेको धौबादी क्षेत्रमा गत वर्षदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । बिजुलीको समस्या नभए पनि नमुनाका रूपमा स्थापना गरिएको वायु ऊर्जा केन्द्र बेवारिसे बन्नु चिन्ताको विषय बनेको अध्यक्ष पाण्डेले बताउनुभयो । धौबादीडाँडामा हावाबाट उत्पादन भएको विद्युत्का कारण रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र स्थानीय ४२ घरधुरी लाभान्वित भएका थिए ।