चित्र मिजार
सिन्धुपाल्चोक, माघ २० गते । मेलम्ची बाढीले मेलम्ची मोटरेबल पुल बगाएपछि अहिले त्यहाँ नयाँ मोटरेबल पक्की पुल बन्ने भएको छ । हाल बेलिब्रिज रहेको स्थानभन्दा करिब १३ मिटरमाथि नयाँ पक्की पुल निर्माणका लागि डिपिआरसहितको ठेक्का लागेको हो ।
मेलम्ची नगरपालिका १० र ११ मा निर्माण सुरु भएको उक्त पुलले मेलम्ची–शिखरपुर–पाँचपोखरी जोड्छ । साथै सो पुल हुँदै सदरमुकाम चौतारा पुग्न छोटो दूरी पर्छ । पुल निर्माणका लागि नगरपालिका जनप्रतिनिधि, प्रदेश सभा सदस्य, सरोकारवाला निकाय जुटेका छन् ।
२०७८ सालमा भे्रमाथाङ पहिरो मेलम्ची बाढीमा परिणत भएर आएपछि एकै पटक दर्जन संख्याका पक्की पुल, बेलिब्रिज, झोलुङ्गे पुल बगाएको थियो । मोटरेबल पुल बगाएपछि ह्युमपाइप र बेलिब्रिज राखेर यातायातका साधन सञ्चालनमा ल्याइएको थियो । अहिले सोही स्थानमा पक्की पुल राख्ने कार्य थालनी भएको छ ।
तत्कालीन बागमती प्रदेश आन्तरिक मामिला तथा अर्थमन्त्री बहादुरसिंह लामाको नेतृत्वमा अर्थ मन्त्रालयले आर्थिक बर्ष २०८०–८१ को बजेटमा सो स्थानमा पक्की पुल निर्माणका लागि ३७ करोड बजेट बिनियोजन गरेको थियो । तत्कालीन भौतिक पूर्वाधारमन्त्री युवराज दुलालको सिफारिश र बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङको पहलमा उक्त बजेट बिनियोजन भएको थियो ।
बहुबर्षीय योजना अन्र्तगत मेलम्ची नदीमा ११२ मिटर लम्बाई र ११ मिटर चौडाइको मोटरेबल पुल बन्न लागेको हो । जय बिष्णु निर्माण सेवा प्रालिसंग भ्याट बाहेक २५ करोडमा पुल निर्माण सम्झौता भएको छ । आगामी २ बर्षभित्र पुल निर्माण सम्पन्न हुने जनाइएको छ ।
पुल बनेपछि मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका लगायत स्थानका हजारौं नागरिकले यातायातका सुविधा पाउने छन् । अहिले उक्त स्थानमा पुल नहुँदा मेलम्ची नदीमा ह्युमपाइप र बेलिब्रिज राखेर सवारीसाधन आउजाउ गर्दैआइएको छ । बर्षायाम लागेसँगै बाढीले ह्युमपाइप बगाउने गरेको छ ।