सहदेव बस्नेत
जाजरकोट, माघ २० गते । जाजरकोट भूकम्पपीडित हालसम्म पनि टिनको छानामै बस्न बाध्य भएका छन् । २०८० कात्तिक १७ गते मध्यराति भूकम्पमा परी जाजरकोटमा १५४ जनाको ज्यान गएको थियो । जाजरकोटका सात वटा स्थानीय तहले अस्थायी आवासका लागि ४८ हजार ५१६ जना लाभग्राही कायम गरेका थिए ।
सरकारको प्राथमिकतामा नपरेको हुँदा पुनर्निर्माण अगाडि बढ्न नसकेको यहाँका भूकम्पपीडितको गुनासो रहेको छ । भेरी नगरपालिका–१२ का वडाध्यक्ष दीपक रानाले हिउँदको जाडो, टिनको छानामुनिबाट चुहिने शीतको थोपाले निथु्रक्क भिजेका कपडा दैनिक निचोरेर प्रयोग गर्नु परेको बताउनुभयो ।
विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी कार्यालय भवनको पुनर्निर्माण नहुँदा पठनपाठन, उपचार र सार्वजनिक सेवा प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार २८९ विद्यालय पूर्ण र ५९८ विद्यालय आंशिक क्षति भएका थिए । त्यस्तै ९२ सरकारी कार्यालयमा पूर्ण क्षति, ६० सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।
सरकारी कार्यालय निर्माणका लागि जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ स्थापना भएको छ । प्राधिकरणले जिल्लामा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने, पुनर्निर्माणको प्रव्रिmया छिटो थाल्नुपर्नेलगायतका माग भूकम्पपीडितले राख्ने गरेका छन् ।
सरकारको ढिलासुस्ती र उदासीनताले भूकम्पपीडितको अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको छ । चिसो थेग्न नसक्दा गत वर्ष जाजरकोट र रुकुमपश्चिममा त्रिपालमै ४३ जनाको ज्यान गएको थियो । सयौँ बालबालिका, वृद्धवृद्धा, सुत्केरी, गर्भवती र दीर्घरोगी बिरामी परे । बर्सातका बेला टहरामा पहिरो खस्दा जाजरकोटमा सात र रुकुमपश्चिममा तीन जनाले ज्यान गुमाउनु परेको थियोे ।
टिनका अस्थायी आवासमा सकसपूर्ण दिन गुजारीरहेका पीडित सरकारप्रति आक्रोशित बनेका छन् । नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत भूकम्पपीडितको समस्यालाई सरकारले महìव नदिएको गुनासो गर्नुहुन्छ । नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले समयमै पुनर्निर्माणको कार्य अगाडि नबढाउनु नागरिकको बाँच्ने अधिकारमा राज्यले बेवास्ता गरेको बताउनुभयो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले लाभग्राहीमध्ये ४० हजार ८६ जनाले पहिलो किस्ताबापत २५ हजारका दरले रकम पाएकोे जानकारी दिनुभयो । ३७ हजार ६९१ घरधुरीको अन्तिम किस्ताका लागि विपत् पोर्टलमा इन्ट्री गर्ने काम सम्पन्न भइसकेको र हालसम्म १४ हजार घरधुरीले मात्र अन्तिम किस्ता रकम पाएको उहाँले बताउनुभयो ।