यदुप्रसाद भट्ट
मनाङ, माघ २० गते । मनाङमा सडक चौडा गर्ने कार्यले निरन्तरता पाएको छ । विशेष गरी जाडो चिसोको समयमा सिमेन्टजन्य कार्य प्रभावकारी नभए पनि मनाङ सडक निर्माण कार्यले गति लिएको छ । ट्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे खण्डको कार्य धमाधम तीव्र गतिमा अघि बढेको छ ।
जाडो तथा चिसोको समयमा सिमेन्टजन्य कार्य नगरी मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले निर्माणस्थलमा आवश्यक सामग्री ल्याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम गरिरहेको छ ।
पर्यटक आकर्षण केन्द्रका रूपमा ख्याति कमाएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा पनि सहज बन्दै गएको छ । मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनासँग सम्झौता गरी आपसी समन्वयका आधारमा सडक चौडा गर्ने काम भइरहेको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बेँसीसहरबाट खुदीसम्म आठ किमि सडक कालोपत्र सम्पन्न भएको हो । सबइन्जिनियर अधिकारीले भन्नुभयो, ‘भौतिक रूपमा असहज भएका स्थानमा आयोजनाले काम गरिसकेको छ । जलविद्युत् आयोजनाका सवारीसाधन आवतजावत गर्नुपर्ने भएकाले यहाँको विकासलाई पनि सहयोग पुगेको छ ।’’ बेँसीसहर–चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि ५१ करोड रुपियाँ बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।
चामे गाउँपालिकाको १, २ र ३, नासोँ गाउँपालिकाको ४, ५, ८ र ९ नम्बर वडामा पर्ने गरी निर्माणाधीन १३५ मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले यहाँको सडक विकासलाई प्राथमिकतामा राखी काम गरिरहेको छ । उक्त जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबिच २०७९ साल पुस ३ गते सम्झौता भएको थियो । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
आयोजनाको कूल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत पुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब एक अर्ब ३३ करोड पुँजी लगानी गर्ने छ । आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ । आयोजना ‘पिकिङ रन अफ दि रिभर’ प्रकृतिको हुनेछ ।
ऊर्जा उत्पादनले मात्रै जिल्लाको विकास सम्भव छैन । मनाङ पर्यटकीय क्षेत्र भएकाले सडक सञ्जाल विस्तार गरी यात्रा सहज बनाउन सके पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिकस्तरमा सुधार हुँदै जाने थियो । ऊर्जा उत्पादनसँगै सडक सञ्जालको विकासले स्थानीयको दैनिकी र पर्यटकलाई आवागमनमा सहयोग पुर्याइरहेको छ ।