• २० माघ २०८१, आइतबार

सहकारी समस्याको दीर्घकालीन समाधान गरिने

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मल्ल सहकारीसम्बन्धी अध्यादेशमा सुझावपत्र हस्तान्तरण गर्नुहुँदै ।तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २० गते  । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी सञ्चालकले बचत रकम अपचलन, दुरुपयोग र अनियमितता गरेको सन्दर्भमा आवश्यक कारबाही गरी बचत फिर्ताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले शनिबार बुझाएको सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनका लागि सुझावपत्र ग्रहण गर्दै उहाँले सहकारीका समस्यालाई दीर्घकालीन रूपमा सम्बोधन गरिने प्रस्ट पार्नुभएको हो । 

उहाँले प्रतिस्थापन विधेयक ल्याउँदा सुझावका सन्दर्भमा छलफल गरिने र संयुक्त सरकार भएकाले राजनीतिक दलसँग पनि परामर्श गर्नुपर्ने बताउनुभयो । एमाले नेता एवं विभागका प्रमुख खगराज अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेशले सहकारी क्षेत्रमा बर्सौंदेखि देखिएका समस्या समाधान गर्ने प्रस्ट पार्नुभयो । 

नेता अधिकारीका अनुसार प्रधानमन्त्री ओलीलाई हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका केही प्रावधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुुझाव बुुझाइएको हो । विभागका प्रमुख अधिकारी र महासङ्घका अध्यक्ष ओमदेवी मल्लले बेग्लाबेग्लै पत्र हस्तान्तरण गरी अर्थतन्त्रको सुदृढीकरणमा महìवपूर्ण हिस्सा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य विषयबारे ध्यानाकर्षण गराउनुुभयो । सुझावपत्रमा कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।

पीडितले बचत फिर्ता पाउने 

नेता अधिकारीले सहकारीको बचत रकम अपचलन गर्ने सञ्चालकबाट बचत रकम फिर्ता गर्ने कार्य पनि तीव्र पारिएको बताउनुभयो । उहाँले सहकारी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीपीडितको बचत फिर्ता गराउन काम गरिरहेको प्रस्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “सात हजारभन्दा बढी बचतकर्ताको एक अर्ब ५१ करोड रुपियाँ फिर्ता भइसकेको छ । अरू समस्याग्रस्त सहकारीका सञ्चालकबाट बचत फिर्ता गराउने कार्यका लागि सरकारले अग्रसरता लिने सन्दर्भमा प्रधानमन्त्रीबाट सकारात्मक कुरा आएको छ ।”