• २० माघ २०८१, आइतबार

सुक्न थाल्यो बाली

blog

वर्षा र हिउँ नपर्दा उजाड बन्दै वनपाखा ।तस्बिर : जयमान बुढामगर

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, माघ २० गते  । लामो समयदेखि पानी नपर्दा यहाँका किसान मर्कामा परेका छन् । रुकुमपूर्व हिमाली जिल्ला भएकाले सिँचाइको सुविधा नहुँदा यस जिल्लाको हिउँदे बाली सुक्न थालेको छ । सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा किसानले खेतीपाती गर्दै आएका छन् । लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका हिउँदे बाली बारीमै सुक्न थालेको छ ।  

रुकुमपूर्वमा हिउँदे बालीको रूपमा गहुँ, जौलगायत तरकारी लगाइन्छ । हाल यी बाली वर्षा र हिउँ नहुँदा बारीमै सुक्न थालेका छन् । तत्काल पानी तथा हिउँ नपरे सबै हिउँदे बाली सुकेर जाने सिस्ने गाउँपालिका–२, कृषक जितप्रसाद घर्तीले चिन्ता व्यक्त गर्नुभयो ।

विगतका वर्षमा समय समयमा पानी तथा हिउँ पर्ने गरेको तर चार/पाँच वर्षयता समयमा वर्षा नहुँदा उब्जनीमा ह्रास आइरहेको घर्तीले बताउनुभयो । “विगतका वर्षमा हरेक हिउँदमा अत्यधिक हिउँ पर्ने गरेको थियो र उब्जनी धेरै हुन्थ्यो तर पछिल्ला वर्षमा हिउँ कम पर्दा उब्जनी घटेको छ,” उहाँले भन्नुभयो ।

बालीनालीसँगै वनमा समेत बिस्तारै बोटबिरुवा पनि सुक्दै गइरहेको भुमे गाउँपालिका–३ का भक्त कामीले बताउनुभयो । जसका कारण भोकमरीको सम्भावना बढिरहेको उहाँको भनाइ छ । कृषिबाहेक अरू केही व्यवसाय नभएका किसान पानी नपरेपछि भोकमरी हुने चिन्तामा छन् । हिउँ र पानी नपर्दा हिउँदे बाली मात्र नभएर बर्सेे बाली लगाउँदासमेत असर हुने गरेको कृषकले बताएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–९ का अञ्चल परियारले पानी र हिउँ नपर्दा बालीनाली मात्र नभई पशुचौपाया पालनमा गाह्रो भइरहेको बताउनुभयो । 

सिँचाइको सुविधा नहुँदा हिउँदे बालीमा असर भइरहेको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष राजबहादुर बुढाले बताउनुभयो । सिँचाइ योजनाका लागि वडा र पालिकाको बजेटले नधान्ने भएकाले प्रदेश र सङ्घीय सरकारसमक्ष पहल भइरहेको वडाध्यक्ष बुढाको भनाइ छ । समयमै वर्षा नहुँदा बालीनालीलाई मात्र नभई पशुचौपाया र मान्छेलाई समेत असर पारिरहेको जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय रुकुमपूर्वका प्रमुख मदनप्रसाद शाहले बताउनुभयो । कार्यालयबाट सबै खेतीयोग्य जमिनमा सिँचाइको पहुँच पु¥याउने गरी योजना कार्यान्वयन भइरहेको प्रमुख शाहले जानकारी दिनुभयो । 

जिल्लाको कुल क्षेत्रफलमध्ये २० हजार २५६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ भने १९ हजार १७५ हेक्टर क्षेत्रफलको जमिन सिँचाइ गर्ने योग्य जमिन रहेको शाहले बताउनुभयो । खेतीयोग्य जमिनमध्ये हालसम्म आठ हजार ४४२ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको उहाँले बताउनुभयो । बाँकी खेतीयोग्य जमिनमा व्र्रmमशः सिँचाइका योजना निर्माण भइरहेको प्रमुख शाहले बताउनुभयो ।