• १३ साउन २०८१, आइतबार

पेट्रोलियम हुनसक्ने प्रमाण, अन्वेषणको लागि थप दुई वर्ष समयावधि

blog

कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न पराकम्पन सेन्सरमा रेकर्ड राख्दै चिनिया प्राविधिक । फाइल तस्बिर – कमल शर्मा

कमल शर्मा

दैलेख, जेठ १३ गते । दैलेखको शिरिस्थान नाभिस्थानलगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थ अन्वेषण गर्न पुनः दुई वर्ष म्याद थपिएको छ । पेट्रोलिय पदार्थको अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्ररी २८मा सम्झौता भएको थियो । 

सम्झौता अनुसार सन् २०२२ फेब्ररी २८ सकिएपछि वि.सं २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषदको बैठकले दुई वर्ष म्याद थप गरेको खानी तथा भूर्गभ विभागले जानकारी दिएको छ । खानी तथा भूर्गभ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद थप गरिएको बताउनुभयो । 

अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तरदक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएपछि पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम असोज महिनामा गर्ने तयारी भएको थियो । तर कोरोनाको तेस्रो लहरका कारण काम प्रभावित बनेको थियो । पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाईनमा भएपश्चात मुख्य ड्रिलिङका लागि असोजमा गर्ने तयारी गरे पनि कोरोना महामारीकाको तेस्रो लहरले स्थगित हुन पुगेको थियो । 

चिनियाँ प्राविधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले आफूलाई गराएको र जमिनमुनी पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतहीमा अन्वेषणमा देखिएको थियो । 

भूर्गभविद डा.त्रिपाठीले भन्नुभयो, ‘सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्नसक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरूले दैलेखमा पेट्रोलियमको भण्डार हुन सक्ने बलियो सम्भावना भएको जानकारी दिनुभयो । 

अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरी महत्वपूर्ण मानिएको सेस्मिक सर्भे हो । यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरू जमिनको सतहमुनिको धेरै गहिराईसम्म पठाएर सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराईबाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गहरुहरुको अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गर्ने कार्यको शत प्रतिशत काम सम्पन्न भएको छ । 

जिल्लाको मुख्यतया दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रीत र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुंगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भूभाग समेटेर दश वटा सिस्मिक लाइनहरूमा जम्मा दुई सय लाइन किमी सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो । 

नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्र्भे कम्पनीबीच सम्झौता भएको थियो । पेट्रोलियम पदार्थको अन्वेषणका लागि स्थलगत अवलोकन गरेपछि चीनका प्राविधिक टोलीले दैलेखको डुगेश्वर गाउँपालिका वडा १ मा, दुल्लु नगरपालिका, दुल्लु अस्पतालमा बेस क्याम्प निर्माण गरी अन्वेषणको काम सुरु गरेको थियो ।