यदुप्रसाद भट्ट
मनाङ, माघ १९ गते । कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ । समयानुकुल र प्रविधिमैत्री हुन नसक्दा मनाङका सबै हुलाक कार्यालय प्रयोगविहीन बन्दै गएको हो ।
मनाङमा एउटा जिल्ला हुलाक कार्यालय, पाँच वटा इलाका हुलाक कार्यालय र पाँच वटा अतिरिक्त हुलाक कार्यालय कार्यालय गरी ११ वटा कार्यालयबाट सेवा दिँदै आएको छ । चार वटा कार्यालयमध्ये जिल्ला हुलाक कार्यालय चामे, धारापानी हुलाक कार्यालय नासोँ, पिसाङ हुलाक कार्यालय मनाङ ङिस्याङ हुलाक महसुल (पिआइटिएस) सेवा चलेको देखिन्छ भने नार हुलाक कार्यालय नार्पाभूमिमा त्यो सेवा सञ्चालनमा छैन ।
जिल्लामा प्राप्त हुने डाँक तथा हुलाक वस्तुको समय सान्दर्भिक अभिलेख राख्ने, चिठीपत्रको दर्ता र चलानी गर्ने, हुलाक टिकटको मागबमोजिम बिक्री वितरण गर्ने, सार्वजनिक निकाय तथा संस्थानले प्रकाशन गर्नुपर्ने सूचना प्रकाशन गरे नगरेको अनुगमन गर्ने, कार्यालयमा प्राप्त भएका पार्सल सम्बन्धित प्रापकलाई प्रदान गर्ने, जिल्लास्थित सञ्चालनमा रहेको केवल तथा एफएम रेडियोको नवीकरण र अनुगमन गर्ने गरिएको कार्यालय प्रमुख सुमित ढकालले जानकारी दिनुभयो ।
दुर्गममा रहेका हुलाक कार्यालयहरू खासै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आएका हुलाक कार्यालयहरू अझै पनि भाडामा घरमा रहेका छन् । २०७८ को बाढीले बगाएपछि जिल्ला हुलाक कार्यालय पनि भाडाको घरमा चल्दै आएको छ । त्यसै गरी धारापानी, पिसाङ र नार हुलाक पनि भाडाको घरमा रहेका छन् । जिल्ला हुलाक कार्यालयको सवारी साधनका रूपमा एक मोटरसाइकल मात्र रहेको र हुलाक महसुल टिकट बिक्रीमार्फत एक लाख १८ हजार सात सय १० रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी, पुस मसान्तसम्म एक रुपियाँको चार हजार थान, दुई रुपियाँको दुई हजार थान, पाँच रुपियाँको १३ सय ५८ थान, १० रुपियाँको १८ सय ५३ थान, ३० रुपियाँकोे ५२ थान र ४० रुपियाँको सात सय ४२ थान टिकट मौज्दात रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पुस मसान्तसम्म साधारण चिठी २९ र रजिस्ट्री चिठी पाँच सय ६७ वटा गरी जम्मा पाँच सय ९६ वटा मात्रै दर्ता भएको देखिएको छ ।
साधारण चिठी ९१, रजिस्ट्री चिठी पाँच सय ९१ र समाचार पत्रपत्रिका सात सय ७१ गरी जम्मा १४ सय ५३ अन्य जिल्लाबाट प्राप्त भएका छन् । मनाङबाट दर्ता भई अन्य जिल्लामा चलान भएका चिठीपत्रको सङ्ख्या पाँच सय ९६ रहेको छ । आफ्नै जिल्लामा दर्ता भई जिल्लाभित्र नै वितरण गरिएका चिठीको सङ्ख्या ८० रहेको छ भने अन्य जिल्लाबाट प्राप्त भई वितरण भएको सङ्ख्या छ सय ६९ रहेको छ ।
पछिल्लो समयमा मोबाइल फोन, इमेल, भाइबर, फेसबुकलगायत आधुनिक प्रविधिको विस्तारसँगै हुलाक कार्यालय प्रयोगविहीन बन्दै गएको हो । विसं १९३५ मा हुलाक घरको स्थापना भई सुरु भएको हुलाक सेवा सरकारी कामकाजलाई सहज बनाउन हुलाक ऐन, २०१९ अन्तर्गत देशभर नै स्थापना गरिएको थियो । व्यक्तिगत तथा पारिवारिक सूचना आदान–प्रदान गर्न कुनै बेला प्रमुख साधन बनेकोे हुलाक सेवा पछिल्लो समय निष्प्रभावी भएको छ । प्रविधिको बढ्दो प्रयोगका कारण हुलाकप्रति मानिसको अरूचि बढ्दै गएको पाइन्छ ।
प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाखा नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत मात्रै काम हुने गरेको कार्यालय प्रमुख ढकालले बताउनुभयो । केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाक सेवा प्रभावकारी बने पनि अहिले हुलाक सेवाबाट भन्दा इन्टरनेट, इमेल, मोबाइल, बेवसाइटजस्ता नयाँ प्रविधिले छिटोछरितो सञ्चारसेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगिविहीन बन्दै गएको ढकालको भनाइ छ ।