• १९ माघ २०८१, शनिबार

गुन्द्रुकको ब्रान्डिङ हुन नसक्दा किसान चिन्तित

blog

ब्राडिङको पर्खामा रहेको उत्पादित गुन्द्रुक । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, माघ १९ गते ।
दोलखाको शैलुङ गाँउपालिका–८ का किसानले उत्पादन गरेको रायो र काउलीको पातको गुन्द्रुकको ब्रान्डिङ हुन नसक्दा किसान चिन्तित बनेका छन् ।

दुःख गरेर उत्पादन गरेको रायो र काउलीको पातको गुन्द्रुकको ब्रान्डिङ नहुँदा बजारमा खासै बिक्री नभएपछि बिचौलियालाई दिँदा आपूmहरु ठगिएको महसुस भएको उनीहरुले गुनासो गरेका हुन् ।

वडा र स्थानीय मोहनसिं तमाङको पहलमा उत्पादित गुन्द्रुक ब्रान्डिङ अनुमतिका लागि खाद्य तथा दाना स्वच्छता एवम् गुणस्तर नियमन महाशाखा बरबरमहल काठमाडौं पुर्‍याइएको छ । एक महिनामा यसको नतिजा दिने भने पनि आजसम्म प्राप्त हुन नसकेको किसान तमाङले जानकारी दिनुभयो ।

‘‘बिचौलियाले किसानसँग प्रतिकिलो दुई सयमा लिएर प्रतिकिलो आठ सयमा बिक्र्री गर्ने गरेको थाहा पाइयो । दुःख गरेर उत्पादन गर्ने मेहेनती किसानहरु ठुलो मारमा परेपछि किसान उकास्न यो विधि अपनाउन लागिएको हो ।’’ उहाँले भन्नुभयो । तर सम्बन्धित निकायको ढिला सुस्तीले सोचे जस्तो नभएको उहाँको गुनासो छ ।

यसबाट ब्रान्डिङ गुन्दु्रकले बजार पनि पाउने र किसानहरुले बिचौलियो मनोमानीबाट छुटकारा पाई परिश्रमको उचित मूल्य पनि पाउँने आशा राखिएको थियो । यसले किसानलाई रायो तथा काउली खेतीप्रति उत्प्रेरण पनि गर्दा खेतीमा तल्लीन गराएर आयआर्जनमा लगाउने सोच जहिँको तहिँ रहेको उहाँले स्पष्ट पार्नुभयो ।

वडाको मनगाउँ, फलामे पोखरी, बस्नेत गाउँ र तल्लो पोखरेका किसानले वार्षिक १० लाख बरारको गुन्द्रुक उत्पादन गर्दै आएका छन् । ब्रान्डिङ र बजारको थप सुविधा पाएपछि यसको दोब्बर हुने अपेक्षा राखिएको छ ।

यी गाउँ रायो, काउली र आलु खेतीमा अब्बल रहेका छन् । यो गाँउको प्रत्येक घरमा गुन्द्रुक बन्ने गरे तापनि बजार नपाउँदा र बिचौलियाको मारमा पर्दा पाहुनाहरुलाई उपहारमा सिमित हुनु परेको  किसानहरुको गुनासो रहेको छ ।