• १९ माघ २०८१, शनिबार

पानी उद्योग शुभारम्भ

blog

उद्योग शुभारम्भ गर्नुहुँदै नगरप्रमुख खिलध्वज पन्थी । तस्बिर :तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, माघ १९ गते  । गुल्मीमा शुद्ध पिउने पानी उद्योगको शुभारम्भ भएको छ । दुई करोड रुपियाँभन्दा बढीको लागतमा रेसुङ्गा जल प्रालि सञ्चालनमा आएको हो । रेसुङ्गा नगरपालिका–३ को बेहोरेमा तीन जना युवा मिलेर खोलेको उद्योगको शुव्रmबार नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गर्नुभयो । 

उद्योगको शुभारम्भ गर्दै नगरप्रमुख पन्थीले पछिल्लो समयमा युवा विदेश पलायन हुँदै जाने लहर चलेको अवस्थामा युवाले स्वदेशमा नै खोलेकै पानी उद्योगलाई नगरले पूरै साथ दिने बताउनुभयो । उहाँले उत्पादित पानीको गुणस्तरतामा ख्याल गर्न उहाँले आग्रह गर्दै जिल्लाका १२ वटै स्थानीय तह र सरकारी कार्यालयमा जिल्लामै उत्पादित पानीको प्रयोग गर्नका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयो । 

प्रतिघण्टा दुई हजार लिटर पानी उत्पादन गर्ने क्षमता रहेको उद्योगले अहिले एक हजार चार सय लिटर प्रतिघण्टा उत्पादन गरिरहेको अध्यक्ष सन्तोष कुँवरले जानकारी दिनुभयो । 

उद्योगबाट एक लिटर, आधा लिटर र २० लिटरको जारमा शुद्ध पिउने पानी बजारमा ल्याएको उद्योगका सञ्चालक राम पन्थीले बताउनुभयो । उद्योगबाट उत्पादन भएको पानी गुल्मी जिल्लाभर नै बिक्रीका लागि पठाइएको उद्योगले जनाएको छ । 

पहिलो चरणमा गुल्मी जिल्लाभर  पठाइएको र जिल्लाको माग पूरा भएपछि अन्य जिल्लामा पनि पठाउने तयारी उद्योगले गरिरहेको पन्थीको भनाइ छ । 

माध्यमिक तहसम्म एउटै विद्यालयमा पढेका तीन जना युवाले करिब दुई करोड लगानी लगाएर जिल्लामै पहिलो पानी उद्योगका रूपमा सञ्चालनमा ल्याएको अध्यक्ष कुँवरले बताउनुभयो । उद्योगले हाल प्रत्यक्ष रूपमा १५ जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएको उहाँको भनाइ छ ।