• २० माघ २०८१, आइतबार

कुन प्रदेशमा कति ?

१६ लाख किशोरीलाई एचपिभी खोप लगाइँदै

blog

काठमाडाैँ, माघ २० गते । सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ लाख किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । 

परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप अभियान सञ्चालन गर्न लागेको हो । सरकारले विद्यालयमा खोप केन्द्र तोकेको हुँदा लक्षित किशोरीलाई विद्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । 

 कुन प्रदेशमा कति ?

सरकारले कोशी प्रदेशका दुई लाख ५९ हजार ८८१, मधेश प्रदेशका चार लाख सात हजार  २९१, बाग्मती प्रदेशका दुई लाख ७३ हजार १२१ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । त्यसैगरी, गण्डकी प्रदेशका एक लाख १८ हजार  ७७४, लुम्बिनी प्रदेशका दुई लाख ९९ हजार ४७१, कर्णाली प्रदेशका  एक लाख २८ हजार २९६  र सुदूरपश्चिम प्रदेशका दुई लाख एक हजार ९३६ जना लक्षित समूह छन् । 

 योभन्दा पहिले आर्थिक वर्ष २०७२/७३,७३/७४ मा दुई वर्ष चितवन र कास्की जिल्लामा परीक्षणको रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा परीक्षणको रूपमा सातै प्रदेशका एक/एक वटा अस्पतालबाट खोप प्रदान गरिएको थियो । 

क्यान्सर रोग विशेष डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी  भाइरस हो ।  यो भाइरसको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा  १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । नेपालमा १६ र १८ प्रजाति ८० प्रतिशतले पाठेघरको मुखको क्यान्सर बनाउने अध्ययनले देखाएको छ ।  

सरकारले अभियानमा लगाउन लागेको एचपिभी विरुद्धको खोपले १६ र १८ प्रजातिबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने डा.गौतमको दाबी छ । 

विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा यो खोप सुरक्षित र प्रभावकारी भएको डा.गौतमको भनाइ छ ।  यसको प्रभावकारिता शतप्रतिशत रहेको विभिन्न अध्ययनले देखाएको छ ।

डा.गौतमका अनुसार यो खोपले महिनावारीमा कुनै असर गर्दैन । उहाँ भन्नुहुन्छ,“किशोरीको महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । यसले एचपिभी खोप लगाउँदैमा महिनावारी छिटो वा ढिलो हुने हुँदैन।” साथै एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेको ढुक्क भएर खोप लगाउन डा.गौतमको सुझाव छ । 

यो खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । यो खोप लक्षित किशोरीलाई एक मात्रा डोज दिए पुग्छ । यो खोप ०.५ एमएलले पुग्ने डा.गौतम बताउनुहुन्छ। खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । यो खोप लक्षित समूह बाहेक अन्य व्यक्ति, गर्भवती, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी भएको व्यक्तिले लगाउनु हुँदैन। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।