• १३ साउन २०८१, आइतबार

रुपन्देहीमा दश कांग्रेस, तीन एमाले र एक–एक जसपा, लोसपा विजयी

blog

कबिन्द्र नेपाल
मणिग्राम (रुपन्देही), जेठ १३ गते ।
रुपन्दहीमा १६ पालिका रहेकोमा दश वटा पालिकाको प्रमुखमा नेपाली कांग्रेसले जितेको छ । त्यस्तै, एमालेले तीन वटा तथा जसपा, लोसपा र जनता प्रगतिशिल पार्टीले एक–एक पालिका जितेका छन् । पाँच दलीय गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) रुपन्देहीमा शून्य भए ।

एक उपमहानगरपालिका र पाँच नगरपालिका रहेको रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका गरी पाँचवटा नगरपालिका कांग्रेसले जितेको छ । प्रमुखमा कांग्रेसले जितेका पाँचवटै नगरपालिकाको उपउप्रमुखमा भने एमाले उम्मेदवार विजयी भएका छन् । त्यसबाहेक नेपाली कांग्रेसले सुद्धोधन, सियारी, कञ्चन, सम्मरीमाई र मायादेवी गाउँपालिका जितेको हो ।

एमालेले देवदह नगरपालिका, ओमसतीया र गैडहवा गाउँपालिका जितेको छ । एक÷एक पालिका जितेका जनता समाजवादी पार्टी (जसपा)ले रोहिणी गाउँपालिका, जनता प्रगतिशिल पार्टीले मर्चवारी गाउँपालिका र लोकतान्त्रिक समाजवादी पार्टीले कोटहीमाई गाउँपालिका जितेको हो ।

कांग्रेसले जितेको बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा एमालेकी साबित्रा अर्याल, तिलोत्तमा नगरपालिकाको प्रमुखमा रामकृष्ण खाँण र एमालेकी जागेश्वरीदेवी चौधरी, सैनामैना नगरपालिकामा फाणेन्द्र शर्मा र उपप्रमुखमा एमालेकी विना राना, सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा ईस्तियाक अहमद खान र उपप्रमुखमा एमालेकी उमा अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा जरुद्धिन मुसलमान र उपप्रमुखमा  एमालेकी कल्पना हरिजन निर्वाचित हुनु भएको छ ।

यसैगरी, कांग्रेसले जितेका गाउँपालिकाहरु सुद्धोधन गाउँपालिकाको अध्यक्षमा विष्णुप्रसाद बस्याल र उपाध्यक्षमा एमालेकी शान्तादेवी चौधरी, सियारी गाउँपालिकाको अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा पनि कांग्रेसकै तारा थारु, कञ्चन गाउँपालिकामा नवराज ढकाल र उपाध्यक्षमा कांग्रेसकै मौषमी थापा, सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा विनोदप्रसाद श्रीवास्तव र उपाध्यक्षमा कांग्रेसकै कुमारी प्रियंका शाही तथा मायादेवी गाउँपालिकाको अध्यक्षमा ध्रुवनारायण चौधरी र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदादेवी उपाध्यायमा निर्वाचित हुनु भएको छ ।

त्यस्तै, एमालेले जितेको देवदह नगरपालिकाको प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा पनि एमालेकै विद्यालक्ष्मी गुरुङ, ओमसतीया गाउँपालिकाको अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी तथा गैडहवा गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र पौड्याल र उपाध्यक्षमा एमालेकै माधुरी जैसवाल विजयी हुनु भएको छ ।

रोहिणी गाउँपालिका जितेको जनता समाजवादी पार्टीबाट अध्यक्षमा विद्याप्रसाद यादव र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ती चमार, मर्चवारी गाउँपालिका जितेको जनता प्रगतिशिल पार्टीबाट अध्यक्षमा गयाप्रसाद बरई र उपाध्यक्षमा सोही पार्टीकी आशा सिंह तथा कोटहीमाई गाउँपालिका जितेको लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्षमा बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा सोही पार्टीकी सुशिलाकुमारी यादव विजयी हुनुभएको हो ।