गोविन्द शर्मा
बाँके, माघ १६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी बजेटदेखि टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नेपालगन्जमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई बुधबार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठुला र मझौला खालका योजनाहरूमा बजेट केन्द्रित गर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “योजनाहरू छरेर होइन, परिणाममुखी बनाएर जाने सरकारले रणनीति बनाएको छ, यसमा पार्टीको पनि ध्यान जान आवश्यक छ ।” उहाँले मझौला र ठुला योजना कार्यान्वयनमा सरकारले ध्यान दिने बताउनुभयो ।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाउँदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने बताउनुभयो । योजना छनौंटमा देखिएको विकृति रोक्नकै लागि पाँच लाखभन्दा माथिका योजना प्रतिष्पर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको बताउँदै उहाँले हरेकखाले विकृतीहरू रोक्न सरकार निर्मम भएर अगाडि बढ्ने दाबी गर्नुभयो ।
बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजनाबारे जानकारी गराउनु भएको थियो । सरकारले अघि सारेका गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनलाई अघि बढाएको उहाँको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले आफु सरकारको नेतृत्वमा पुगेपछि प्रदेश सरकारले गरेका काम, प्राथमिकता, भावि योजनासहितका विषयहरू समेटिएको प्रतिवेदन पार्टीका प्रदेश इञ्चार्ज पद्मा अर्याल र पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई बुझाउनु भएको थियो ।
बुधबार नै अर्घाखाँची सम्पर्क मञ्च बाँकेले नेपालगन्जमा आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासनलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।