• १७ माघ २०८१, बिहिबार

काम छाडेर ठेकेदार कम्पनी फरार

blog

ठेकेदार कम्पनी कान्छाराम कन्स्ट्रक्सन फरार रहेपछि अलपत्र अवस्थामा बाह्रबिसे–सुनकोशी–धुस्कुन–पिस्कर सडक ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, माघ १६ गते । जिल्लाकै महìवपूर्ण मानिएको बाह्रबिसे–सुनकोशी–धुस्कुन–पिस्कर सडकको कालोपत्रेसहितको स्तरोन्नतिको काम छाडेर ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम तामाङ) को ठेकेदार कम्पनी कान्छाराम कन्स्ट्रक्सन फरार भएको छ । १७ किलोमिटर दुरीको उक्त सडक पाँच वर्षदेखि ठेकेदार कम्पनी कान्छाराम कन्स्ट्रक्सनले अलपत्र अवस्थामा छाडेको हो । ऐतिहासिक महìवको मानिएको सो सडकको कालोपत्रेसहित स्तरोन्नति गर्नका लागि २०७७ सालमा ठेक्का लागेको थियो । दुई वर्ष दुई महिनामा स्तरोन्नति पूरा गर्नका लागि ठेकेदार कम्पनीसँग ३९ करोड ४० लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीले सो सडकको केही खण्डमा गे्रड मिलाउने, घुम्ती सुधार गर्ने, नाला बनाउने काम गरे पनि त्यसभन्दा थप काम नगरी बेपत्ता भएको छ । १७ किलोमिटर सडकखण्डको सडक चौडा गर्ने, नाला कलभर्ट कजवे बनाउने र कालोपत्रे, रङरोगन, ट्राफिक चिह्न, सुरक्षा सङ्केतसहित सडक स्तरोन्नति गर्ने सम्झौतामा उल्लेख छ । सो ठेकेदार कम्पनीले कामै नगरी सम्पर्कविहीन भएको छ । 

स्तरोन्नतिको काम गर्ने सम्झौता अनुरूपको म्याद सकेपछि पुनः एक वर्ष म्याद थपिएको थियो । थपिएको म्याद सकिएर पनि थप एक वर्ष बितिसकेको छ तर ठेकेदार कम्पनी सडकको काममा फर्किएको छैन । सडकको स्तरोन्नति नगरिँदा सो सडक जीर्ण बनेको छ । धुस्कुन, पिस्कर पुग्ने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । जथाभाबी कटिङले पहरीगाउँका एक दर्जन घर उच्च जोखिममा परेका छन् । उनीहरू सुरक्षित अन्य स्थानमा त्रिपाल र टहरा हालेर बस्न बाध्य छन् । आवश्यकता नभएका स्थानमा कटिङ गरिँदा सडक आसपासका घर जोखिममा परेका हुन् ।

धुस्कुन स्वास्थ्य चौकीको केही भौतिक संरचनामा क्षति पुगेको छ । अलपत्र अवस्थामा काम छाडेर ठेकेदार कम्पनी भाग्दा सडकको अवस्था बेहाल भएको छ । त्यसले पहिरो र भूक्षय निम्त्याएको छ । हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने सडकमा सामान्य बर्सातले पनि सवारीसाधान चल्न नसक्ने हुँदै आएको स्थानीय तथा त्रिपुरासुन्दरी गाउँपालिका–३, धुस्कुनका थरिप्रसाद तिमल्सिनाले बताउनुभयो । सडकका काम गरेका मजदुरले पनि ज्याला नपाएको गुनासो गरेका छन् । उक्त सडकको काम अलपत्र अवस्थामा रहेपछि त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले ठेकेदार पक्षलाई सडक स्तरोन्नतिमा फर्किन आग्रह गर्दासमेत ठेकेदार पक्ष सम्पर्कमा नरहेको उहाँले बताउनुभयो ।