• १७ माघ २०८१, बिहिबार

कर्णाली प्रदेश सभाको बैठक २५ गतेसम्म स्थगित

blog

कर्णाली प्रदेश सभा । तस्बिरः मुना हमाल

मुना हमाल 

सुर्खेत, माघ १५ गते । नेकपा माओवादी केन्द्रले प्रदेश सभाको बैठक अवरुद्ध जारी राख्दा प्रदेश सभा बैठक २५ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले वार्षिक १० हजार युवालाई रोजगार दिने कर्णाली समृद्ध कार्यक्रम अघि नबढाएको भन्दै बैठक अवरुद्ध गरेको थियो । 

त्यस यता तीन पटकसम्म प्रदेश सभाको बैठक स्थगित भएको छ । मंगलबार ३ बजे बस्ने भनेको बैठक माघ २५ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । पटक पटक छलफल गर्दा पनि प्रमुख प्रतिपक्ष दल र सरकारबिच सहमति जुट्न सकेन । 

माओवादी केन्द्रका प्रमुख सचेतक कृष्ण जिसीले सरकारले आफुहरुले उठाएका माग पूरा गर्न तयार नभएकाले प्रदेश सभा बैठक अघि बढ्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले उठाएका मागप्रति सरकार गम्भीर देखिएन् । बरु खण्डन गर्नतर्फ लाग्यो । कुनै सहमति नभएपछि प्रदेश सभा बैठक अघि बढ्न दिँदैनौँ ।’

सरकारका प्रवक्ता विनोदकुमार शाहले प्रतिपक्षले उठाएका माग सरकार पूरा गर्न असमर्थ रहेको बताउनुभयो । उहाँले उक्त कार्यक्रम अहिले नीति तथा कार्यक्रम र बजेटमा नभएकाले माग पूरा गर्न समस्या भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘वार्षिक १० हजार युवालाई रोजगारी दिने कर्णाली समृद्ध कार्यक्रम थियो । यो कार्यक्रम सरकारले ल्याउँदा राजकुमार शर्मा मुख्यमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले कानून निर्माण गरेर सञ्चालन गर्ने भन्नुभएको थियो । तर कानुन निर्माण गर्नु भएन् ।’