• २० फागुन २०८१, मङ्गलबार

पचपन्न जना एयरहोस्टेस दीक्षित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १२ गते । नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययनरत १६, १७ र १८ औँ व्याचका ५५ एयरहोस्टेस दीक्षित हुनुभएको छ । काठमाडौंको हात्तिसारमा भएको एक समारोहमा दीक्षित भएर प्रमाणपत्र पाएसँगै उहाँहरुको विमान परिचारिका बन्ने वाटो खुल्ला भएको छ ।

सात महिना पहिले एयरहोस्टेस बन्ने सपना बोकेर उहाँहरु नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययन गर्न आउनुभएको थियो । सात महिनाको प्रयासपछि विमान परिचारिकाको रोजगारीका लागि उहाँहरु सक्षम बनेका नेपाल एयरहोस्टेस एकाडेमीका निर्देशक रेजिना तुलाधरले जानकारी दिनुभयो ।  

विमान परिचारिका आफैंमा आकर्षक पेशा हो । आकाशमा उड्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवारी पनि बहन गर्नुपर्ने खालको रहेको तुलाधरले बताउनुभयो । दीक्षित समारोहमा एकाडेमीका चिफ इन्सटक्टर गौरीकला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, पर्सनालिटी प्रशिक्षक रोजिन शाक्य तथा संस्थाका अध्यक्ष प्रदीपराज वन्तको समेत सहभागिता थियो । 

कार्यक्रममा विद्यार्थीलाई प्रमाणपत्रका साथै उत्कृष्ट विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो । सो अवसरमा अतिथिहरुले विमान परिचारिकाजस्तो महत्वपूर्ण क्षेत्रमा लगानी गरेर युवाहरुलाई शिक्षा प्रदान गर्नु आफैँमा महत्वपूर्ण रहेको भन्दै प्रसंसा गर्नुभयो । 

अध्ययन कोर्समा विमानको इतिहास र प्रकार, यात्रु सुरक्षा, यात्रु सत्कार, फायर फाइटिङ रहेको छ ।  ड्रेस र मेकअप, फुड सर्भिस, प्राथमिक उपचार विधि, व्यक्तित्व विकास, आत्मरक्षा, पौडीलगायतका विषयलाई बढी प्राथमिकता दिने गरिएको निर्देशक तुलाधरले बताउनुभयो ।  

विमान परिचारिकाले यात्रुको सत्कार गर्ने,  यात्रुको सुरक्षाको अनुभूति दिलाउने, यात्रुको कमाण्ड लिने,  यात्रुलाई अप्ठ्यारो समयमा सान्त्वना दिने, सूचना प्रवाह गर्ने, मौसमसम्बन्धी जानकारी दिने, परिचयपत्र चेकजाँच गर्ने लगायतको काम गर्ने जिम्मेवारी हुन्छ । अध्यक्ष वन्तकाअनुसार राष्ट्रिय उडानमा मासिक न्यूनतम ३० हजारदेखि ८० हजार रुपियाँसम्म कमाइ हुन्छ । त्यस्तै, अन्तर्राष्ट्रिय उडानमा मासिक एक लाखदेखि दुई लाख रुपियाँसम्म कमाइ हुन्छ ।