• ४ वैशाख २०८२, बिहिबार

मानवसेवा आश्रमका लागि एक करोड

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ १५ गते । मानवसेवा आश्रमको आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । आश्रमको पूर्वाधार निर्माणका लागि कर्णाली प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षमा एक करोड रुपियाँको बजेट विनियोजन गरिएको हो ।

सडक मानवमुक्त प्रदेश कार्यान्वयन गर्न मानवसेवा आश्रमलाई सहयोग गरिएको जनाइएको छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानवता प्रवर्धनका लागि थालिएको पुण्य काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले चालु आवमा एक करोड बजेट विनियोजन गरिएको र आवश्कताका आधारमा सहयोग गर्ने जानकारी दिनुभयो । पूर्वाधार निर्माणमा प्रदेश सरकारले हातेमालो गर्न लागेको समेत उहाँको भनाइ छ ।

सुर्खेतमा मानवसेवा आश्रमका लागि विभिन्न निकायबाट आर्थिक सहयोग भइरहेको छ । स्थानीय सरकारले समेत पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । विगतदेखि नै आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्दै आएको वीरेन्द्रनगर नगरपालिकाले पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चालु आवको नीति तथा कार्यक्रममा नै समेटेर मानवसेवा आश्रमको पूर्वाधार निर्माणका लागि सहयोग गर्न लागिएको नगरपालिकाले जनाएको छ । डेढ करोड बराबरको पूर्वाधार निर्माणको काम नगरपालिकाले गरिदिने नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । 

आश्रमको पूर्वाधार निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको मानवसेवा आश्रम सुर्खेत जिल्ला संयोजक सुजन गौतमले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशस्तरीय मानवसेवा आश्रमको भवन निर्माण गर्न लागिएको छ ।  

महायज्ञबाट नौ करोड

मानवसेवा आश्रमको पूर्वाधार निर्माणका लागि हालै सम्पन्न भएको महायज्ञबाट नौ करोड ७६ लाख रुपियाँ सङ्कलन भएको छ । आश्रमले गत मङ्सिरमा वीरेन्द्रनगरको खुलामञ्चमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट नौ करोड ७६ लाख ९२ हजार आठ ४३ रुपियाँ दान सङ्कलन भएको हो । महायज्ञबाट करिब पाँच करोड रकम सङ्कलन हुने अपेक्षा गरिए पनि लक्ष्यभन्दा करिब दोब्बर दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका तत्कालीन संयोजक डा. नवराज केसीले जानकारी दिनुभयो । महायज्ञबाट एक करोड ९७ लाख ६६ हजार ६५ रुपियाँ नगद जम्मा भएको छ भने एक करोड ३३ लाख २७ हजार छ सय एक रुपियाँ अनलाइन माध्यमबाट प्राप्त भएको छ । ३७ लाख ८८ हजार ९२१ रकम बराबरको चेक प्राप्त भएको छ । पाँच करोड चार लाख १६ हजार ३२ रुपियाँ स्थानीय तह र विभिन्न सङ्घ संस्थाले प्रतिबद्धता गरेका छन् भने ५७ लाख ७९ हजार ५८२ रुपियाँ व्यक्तिगत प्रतिबद्धता गरेका छन् । 

महायज्ञको कलशयात्रामा प्रयोग भएको कलश बिक्रीबाट मात्रै ४२ लाख ७४ हजार ८८२ रुपियाँ सङ्कलन भएको छ । दानपेटिकामा प्राप्त दान तीन लाख २६ हजार ४५५ र किताब बिक्रीबाट १३ हजार ३०५ रुपियाँ सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । महायज्ञको खर्च भने ५० लाख ७४ हजार ८७ रुपियाँ भएको बताइएको छ ।