काठमाडौँ, माघ १४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको छ ।
उहाँले मन्त्रीहरूले यसको बारेमा जवाफ दिनुपर्ने भएकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको बताउनुभयो । उहाँले बैठकमा सांसदहरूले दुई ठुला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसके जनतामा निराशा छाउने भएकाले गम्भिर भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै खतिवडाले भन्नुभयो, ‘सदस्यहरूले मन्त्रीहरूको कामको प्रभावकारिताको विषयमा केही कुराहरू राख्नु भएको छ । मुस्कानसहितको सेवा भन्ने एउटा भनाइ छ । मन्त्रीमात्र मुस्कुराउने तर सेवाग्राही रुँदै हिँड्ने अवस्था नआओस् भन्ने धेरै माननीयहरूको भनाइ छ । केही नयाँ कुराहरू पनि आएका छन् । सरकारले ल्याएको अध्यादेशको सवालमा केही साथीले सहमति छैन भन्ने कुराहरू गर्नुभएको छ । अध्यादेश आउनुभन्दा अगाडि सांसदहरूसँग छलफल गरिएन । यो कुरा ठिक भएन भनेर केही माननीय सदस्यहरूले कुराहरू राख्नुभयो । मन्त्रीहरूले जवाफ दिनुपर्नेछ । त्यसैले मन्त्रीहरूले जवाफ दिनका लागि फेरि माघ १८ गते बिहान ८ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।’
खतिवडाले भन्नुभयो, ‘विशेषगरी मन्त्रीहरूको कार्यदक्षता र क्षमताहरू र जनताको सवालमा काम गर्नुस्, यदि मन्त्री पनि हुने काम पनि नगर्ने पद्धतिको विकास भयो भने पार्टी निराशामा जाने कुरा आएको छ । दुई ठुला पार्टी मिलेर बनेको सरकारले पनि जनताको आशाअनुसार काम गर्न सकेन भने जनतामा निराशा पैदा हुन्छ । निराशा पैदा हुने कामको अन्त्य हुनुपर्छ । त्यसमा आफ्नो बलबुँताले भ्याएसम्म गर्नुस् भन्ने कुरा भयो । सभापतिले मन्त्रीहरूलाई काम गर्ने बेलामा सांसदहरूसँग समन्वय गरेर अगाडि बढ्न निर्देशन दिनुभयो । यदी गल्ति भएको छ भने खुलेर राख्न सभापतिले भन्नुभएको छ ।’
कांग्रेसका केही नेताहरूले सार्वजनिक रूपमै सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएको छ ।
सहकारीपीडितको रकम पीडकबाटै परिपूरण गर्न माग
राससका अनुसार, नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सहकारी पीडितको रकम पीडकबाटै परिपूरण गराउनुपर्नेमा जोड दिएका छन् । बानेश्वरस्थित संसद् भवनमा बसेको आजको बैठकमा सांसदहरूले सहकारीपीडितलाई दिनुपर्ने रकम धेरै परिमाणमा रहेको र राज्यले दिन नसक्ने अवस्था भएकाले सहकारीको रकम अपचलन गर्नेहरूबाटै भराउनुपर्ने माग गरेका हुन् ।
बैठकपछि संसदीय दलका मुख्य सचेतक श्यामकुमार घिमिरेले सोही भावनाअनुसार सहकारीसम्बन्धी अध्यादेश ल्याइएको जानकारी गराउँदै उक्त अध्यादेशले सहकारीपीडितका समस्या हल गर्ने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकार गठनका लागि भएको साझेदारीअनुसार नेपाली कांगे्रस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सात बुँदे सहमतिअनुसार सरकार अघि बढ्ने उहाँले बताउनुभयो ।
बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र सरकारले गरेका काम कारबाहीका बारेमा सांसदहरूले बैठकमा कुरा राखेका थिए ।
माघ १८ गते बिहान साढे आठ बजेसम्मका लागि संसदीय दलको बैठक स्थगित गरिएको पनि मुख्य सचेतक घिमिरेले सुनाउनु भयो । संसदीय दलको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल जारी छ ।