काठमाडौँ, माघ १४ गते । नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा सुरु भएको छ । संसदीय दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सुरु भएको बैठकमा दलका सांसदहरु सहभागी हुनुहुन्छ ।
माघ १८ गतेदेखि सङ्घीय संसद्को बैठक सुरु हुन लागेकाले त्यसको तयारीका लागि आइतबारबाट दलको बैठक बसिरहेको छ । पार्टीभित्र साझा धारणा बनाएर संसद्को आगामी अधिवेशनमा प्रस्तुत हुने गरी छलफल अघि बढाएको छ । दलको आइतबारबाट सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, संसदमा विचाराधीन विधेयकसहित सबै विषयमा वैचारिक एकरूपता ल्याउने गरी छलफल अघि बढाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार संसदीय दलको बैठकबाट संसदमा प्रस्तुत गर्ने विषयबारे प्रस्ट मार्गचित्र बनाइने छ । उहाँले भन्नुभयो, “पार्टीभित्र बहस हुन सक्छ । नेतृत्वको आलोचना गर्न पाइन्छ । तर पार्टीको बैठकले जे निष्कर्ष दिन्छ, त्यो निर्णय सबैले स्वीकार गर्नुपर्छ, अपनत्व लिनुपर्छ । कार्यान्वयनप्रति जवाफदेही हुनुपर्छ । त्यसैले बैठकमा बहस गरेर सहमतिकै आधारमा निर्णय गरी साझा धारणा बनाएर जाने विषयमा छलफल केन्द्रित छ ।”