• १४ माघ २०८१, सोमबार

जनआकाङ्क्षा सम्बोधनका लागि अध्यादेश

सरकार मुलुकको सङ्कट समाधानमा केन्द्रित छ : महासचिव पोखरेल

blog

महोत्तरीको बर्दिबासमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल। तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, माघ १३ गते। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले दुई ठुला पार्टी मिलेर बनेको सरकार मुलुकमा सङ्कट समाधानका लागि गठन भएको बताउनुभएको छ। उहाँले चुनौतीपूर्ण बनेको राजनीतिक हस्तक्षेप र आर्थिक सङ्कटले निराशा छाएको बेला मुलुकलाई सहि बाटोमा डोर्‍याउने उद्देश्यसाथ काङ्ग्रेस र एमाले एक ठाउँमा आएपछि सत्ता र शक्तिका लागि च्याँखे थाप्ने प्रवृति पनि निरुत्साहित भएको बताउनुभयो। 

नेकपा (एमाले)को मधेश प्रदेश स्तरीय वडा केन्द्रित तीन महिने अभियानको अभिमुखीकरण कार्यक्रमका लागि बर्दिबास आउनुभएका महासचिव पोखरेलले आइतबार प्रेस चौतारी महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो। 

दुई प्रमुख पार्टी मिलेर नेपालमा राजनीतिक स्थायित्वको आधार तयार पार्ने योजनाका साथ अगाडि बढेको उहाँको दाबी छ। महासचिव पोखरेलले सुशासन, सार्वजनिक सेवा प्रवाह, भूमि समस्या समाधान र लगानी मैत्री वातावरण तयार गर्ने लक्ष्यका साथ अध्यादेश ल्याउनु आवश्यक रहेको बताउनुभयो। 

पोखरेलले भन्नुभयो, ‘संसदीय प्रक्रियामा कानुन बनाउन लामो समय लाग्छ तर मुलुकमा व्याप्त आर्थिक सङ्कट समाधानका लागि तत्काल कानुनी सुधार जरुरी हुँदा जनआकाङ्क्षा सम्बोधन गर्न सरकारले अध्यादेश जारी गरेको हो।’

पोखरेलले एमालेको ‘मधेश प्रदेश स्तरीय वडा केन्द्रित तीन महिने अभियान’ को बारेमा जानकारी दिनुहुँदै मधेशमा ओली सरकारले जति कसैले विकाश नगरेको दाबी गर्नुभयो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारको विश्वभर वैदेशिक सहयोग रोक्ने नीतिले नेपाललाई पार्नसक्ने असरका सन्दर्भमा गोरखापत्रले राखेको प्रश्नमा पोखरेलले नेपालको विकाश निर्माण यसबाट खासै प्रभावित नहुने प्रतिक्रिया दिनुभयो। 

नेपालका अधिकांश विकाश निर्माण विश्व बैंक र एशियाली विकाश बैंकको सहुलियतपूर्ण ऋणमा चलेकाले अमेरिकी नीतिले यहाँका योजना ठप्प हुने अवस्था नरहेको उहाँले प्रष्ट पार्नुभयो।