शिवराज ढुंगाना
अछाम, माघ १२ गते । नेपाल निजामती कर्मचारी संगठन, अछामको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संगठनको १२ औं अधिवेशनले जगतबहादुर रावलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा कमलप्रसाद भण्डारी सचिवमा जनक बुढा, सह–सचिवमा खम्म नेपाली, कोषाध्यक्षमा लोकेन्द्र साउँद रहनुभएको छ । सदस्यहरुमा कृष्णाकुमारी थापा, रमेश विक, हेमन्तकुमार शाही, हिक्मत धामी, शिवराज ढुंगाना, पुष्पराज खनाल, कृष्णप्रसाद धमाला निर्विरोध निर्वाचित हुनुभएको हो ।
अधिवेशनले नरेन्द्रबहादुर शाहलाई केन्द्रीय र विष्णुप्रसाद जैसीलाई प्रदेश प्रतिनिधि चयन गरेको छ । १२ औं जिल्ला अधिवेशनको उद्घाटन नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा अछाम –२ का निवर्तमान सांसद यज्ञबहादुर बोगटीले गर्नुभएको थियो । बोगटीले कर्मचारीले आफ्ना हक अधिकारहरुको उपयोग गर्दै कर्तव्यनिष्ठ भएर सेवाग्राहीलाई सहज रुपमा सेवा दिनुपर्ने भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) अछामका अध्यक्ष चन्द्र बोहरा, मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष झपटबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संगठनका जिल्ला अध्यक्ष विष्णुप्रसाद जैसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव झनक अधिकारीले गर्नुभएको थियो । अधिवेशनमा संघ, प्रदेश र स्थानीय तहका गरेर विभिन्न स्थानीय तहबाट कर्मचारीको सहभागिता रहेको थियो ।