• ६ जेठ २०८१, आइतबार

मृतक दर्जीको परिवारलाई मुद्दा दर्ता नगर्न दबाब

blog

घाटमै पुगेर प्रेम दर्जीको पोस्टमार्टम गरी अन्तीम दाससंस्कार गरिदै । तस्विरः फाइल तस्विर

कालीकोट, जेठ १२ गते । शङ्कास्पद रूपमा ज्यान गुमाएका रास्कोट नगरपालिका ८ का प्रेम दर्जीको परिवारलाई कानुनी प्रक्रियामा नजान दबाब दिएको परिवारले जनाएको छ । 

मृतकका भाइ लाल दर्जीका अनुसार राज्य पक्षवाट मुद्दा दर्ता नगर्न दबाब आएको बताउनुभयो । दाइ प्रेम सहभागी भोजको आयोजक रास्कोट नगरपालिका नवनिर्वाचित प्रमुख, उपप्रमुख छानबिनका लागि कानुनी प्रक्रिया जाने भएको छ । 

नेकपा (माओवादी केन्द्र) का नेता हजा सुनार, उपप्रमुख मनिराज वराल लगायतले फोन गरेर कहाँ कसरी मिलाउन सकिन्छ हामी क्षतिपूर्तिको व्यवस्थापन गर्न तयार छौं, तर मुद्दा दर्ता गर्ने प्रक्रियामा नजानु भनेर दबाब दिएको मृतकका भाइ लाल दर्जीले बताउनुभयो । 

कसैको नाममा किटानी नदिनु भन्दै फोन गरेर दबाब दियो उहाँले भन्नुभयो । माओवादी नेता दलित अधिकारकर्की भैरे तिरुवा, गौरी दर्जी, हजा सुनार, नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बरालले पटक पटक फोन गरेर दबाब दिएको उहाँले बताउनुभयो । 


घाटमै पोष्टमार्टम नभएको शव मलामीले देखेपछि करिब ५ घन्टासम्म दाहसंस्कारको काम रोकिएको थियो । स्वास्थ्यकर्मीको टोलिले सोमवार बेलुका ४ः३० बजे तिर चिहानघाटमै पुगेर पोष्टमार्टम गरेको थियो । 

शङ्कास्पद मृत्यु भएको घटनालाई शक्ति केन्द्रहरूको चलखेलका कारण दोषीलाई उन्मुक्ति दिन पोष्टमार्टम बिना शव गाड्न लगाउन खोजिएको आरोप परिवारको  छ । मृतक दर्जी जेठ ६ गते रास्कोट नगरपालिकाको प्रमुख र उपप्रमुखको विजयी भोजमा सहभागी हुन बयलपाटा हुँदै पाटेडील उपप्रमुखको घर पुगेका थिए । सोही राति दर्जी बेपत्ता भएका प्रहरीको अनुसन्धानमा खुलेको छ । 

बेपत्ता भएपछि खोजी गर्दा दर्जीको शव नजिकै पाटेडीलको पानिगौंडा कुलोमा जेठ ७ गते साँझ ६ बजे भेटिएको थियो । शवलाई जेठ ८ गते बिहान पोष्टमार्टम गर्न रास्कोट सामुदायिक अस्पतालमा पठाए पनि  पोष्टमार्टम नगरी अस्पतालले शव पठाएको थियो । परिवारको दबाबपछि घाटमै पुगेर स्वास्थ्यकर्मीले पोष्टमार्टम गरेका थिए । 

Author

प्रेमराज सिम्खडा