गोकर्ण पौडेल
तुलसिपुर, माघ ११ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र आर्थिक सुशासनकै पक्षमा रहेको बताउनुभएको छ ।
माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि प्रतिपक्षमै रहेर आवाज उठाउँदै आएको बताउनुभयो ।
सत्ता वा प्रतिपक्षमा रहँदासमेत जनताका आवश्यकतालाई प्राथमिकता दिएको अध्यक्ष प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले विगतका कमिकमजोरीलाई सच्याउँदै जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने बताउनुभयो । उहाँले माओवादी केन्द्रको जनाधार राप्ती क्षेत्रबाटै नेतृत्वलाई सुधार गर्दै लैजाने आफूले सन्देश प्राप्त गरेको जानकारी दिनुभयो ।
उहाँले जनतामाझ पूर्ण समानुपातिकको मुद्दालाई स्थापित गर्दै लैजाने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र तुलसिपुर नगरअधिवेशन तथा जिल्लास्तरीय खबरदारी सभा नगरसभाका अध्यक्ष मोहन थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।