• ११ माघ २०८१, शुक्रबार

बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै

blog

बुटवल–गोरुसिङ्गे सडकखण्डको रामपुर क्षेत्र । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, माघ ११ गते । बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको काम शुक्रबारदेखि हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक स्तरोन्नति कार्यको शिलान्यास बुटवलको जितगढीमा शुक्रबार एक समारोहबिच गर्ने कार्यक्रम रहेको बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका प्रमुख कुशलता न्यौपानेले जानकारी दिनुभयो । सडक विस्तारका लागि आवश्यक पर्ने पूर्वतयारीको काम करिब सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

उहाँले सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्री ठाउँ ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, कटान गर्ने रुखको गणना गर्ने र पुल बनाउने र ‘अन्डर पास’ हुने स्थानको पुनः माटो परीक्षण गर्ने लगायतका काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । 

२०१९ सालमा बनेको बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम हुन लागेको हो । बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काइकन गर्ने पूर्वतयारी छ । आयोजना प्रमुख न्यौपानेले सडक विस्तार क्षेत्रभित्रका पालिकाबाट स्थानीयलाई सास्ती नहोस् भन्ने उद्देश्यले दुवै छेउको सडक बनाएपछि मात्र बिचको पिच भत्काउन सुझाव आएकोले सोही अनुसार गर्ने बताउनुभयो । 

सडक संरचनाभित्र परेका घरधनीले भने आफैँ घर भत्काएर क्षतिपूर्तिसमेत लिइसकेका छन् । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो । आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५/२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । 

यो सडकमा गाडी गुडाउन मिल्ने छ वटा ‘अन्डर पास’, पैदलयात्रुका लागि १२ वटा ‘अन्डर पास’ र ११ वटा ओभरहेड ब्रिज, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा ‘अन्डर पास’ बनाइने आयोजनाको भनाइ छ । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको हो । 

पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छ भने १४९ वटा कलभर्ट पनि निर्माण हुने छ । आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ ।  ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने सम्झौता भएको छ ।