• १० माघ २०८१, बिहिबार

सहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ १० गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–५ मा रहेको सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । बेनी–५, भिरमुनिस्थित सेताेढुङ्गामा निर्माण सम्पन्न भएको सहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको हो ।

ग्लोबल केयर जर्मनबाट भवन तथा गेट निर्माण, शौचालय र सहरी स्वास्थ्य केन्द्रलाई आवश्यक औषधी तथा उपकरण सहयोग गरी असल छिमेकी नेपालमार्फत बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । झण्डै २७ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भएको बेनी नगरपालिकाले जनाएको छ । स्थानीयको आवश्यकता, चाहना, वडा र बेनी नगरपालिकाको पहलमा भवन निर्माण गरी हस्तान्तरण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीको भनाइ छ ।

भवनको बेनी नगरपालिकाका नगर प्रमुख केसी र उपप्रमुख ज्योति लामिछानेले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले सेतोढङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको स्थानीयवासी स्वयंले अपनत्व लिएर संरक्षण गर्नुपर्ने धारणा राख्नु भएको थियो । 

बेनी नगरपालिकाले आम नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालनमा जोड दिएको बताउँदै नयाँ भवनलाई आवश्यक संरक्षण गरी स्वास्थ्य सेवा लिन समुदायलाई सुझाव दिनुभयो । 

नगर प्रमुख केसीले विगतमा असल छिमेकी नेपालले विपन्न नागरिकहरूको उत्थानका लागि आयआर्जनको क्षेत्रमा बिउबिजनलगायत सहयोग गरेको बताउनुभयो । बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको भवन बनाइदिएर नगरपालिकाको जनताको सेवामा जोडिएको बताउनुभयो । उहाँले नवनिर्मित भवनमा सकभर बिरामी भएर कोही नागरिक पनि आउन नपरोस् र भवनको दिर्घकालीन रूपमा सदुपयोग गर्नुपर्ने बताउँदै यसबाट निरोगिता बाँड्न र स्वस्थ नागरिक बनाउन जोड दिनुपर्ने बताउनुभयो । 

नेपाल सरकारले ९८ प्रकारका औषधीहरूको निःशुल्क व्यवस्था गरेपनि सहरी स्वास्थ्य केन्द्रसम्म ४० प्रकारका औषधी आएर पनि त्यो पर्याप्त नभएको र स्वास्थ्य संस्थाहरूमा जनशक्तिको समेत अभाव रहेको उहाँको भनाइ थियो । 

कार्यक्रममा छोटो समयमा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरिदिने निर्माण व्यवसायी, सहयोग पुर्‍याउने विभिन्न व्यक्ति र सङ्घसंस्थालाई असल छिमेकी नेपाल तथा बेनी नगरपालिका र वडाबाट प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम असल छिमेकी नेपालका कार्यकारी अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षता र कार्यक्रम अधिकृत सुरेन्द्र दासको सञ्चालनमा सम्पन्न भएको थियो ।