कोकिला ढकाल
इलाम, माघ १० गते । इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मुख्य राजमार्ग मेची राजमार्गमा वैशाख लागेपछि यातायात बन्द हुुने चिन्ता आमनागरिकमा बढेको छ । मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माईखोला राजदुवालीमाथिको सडकखण्डमा समान्य वर्षा हुनासाथ यातायात बन्द हुने अवस्थाले चिन्ता बढाएको हो ।
अहिले दैनिक जसो इलाम सदरमुुकाममा हुने सभा, सम्मेलन र स्थानीय सरकारका विषयगत समितिमा मेची राजमार्गका विषयमा आवाज उठ्ने गरेको छ । इलाम नगरपालिकाले पनि पत्रकार भेटघाट गरी राजमार्गको बिग्रिएको खण्ड र वैकल्पिक मार्गका विषयमा छलफल गरेको छ ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाले आउँदो वैशाखदेखि मेची राजमार्ग बन्द हुने निश्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेदेखि विकल्प खोजिएन भने पूूर्वी पहाडका तीन जिल्लाको जनजीवन अस्तव्यस्त हुुन्छ । वैकल्पिक भनिएका सडकको काम गर्न रकम पर्याप्त छैन ।” नगरप्रमुख थापाले भन्नुुभयो, “इलाम नगरपालिका बेलासे हुुँदै झापा जोड्ने फास्ट ट्र्याकको पनि काम पुरा भएको छैन । गोदक सिमल गोलाई–तिल्केनी सडकमा पनि पर्याप्त रकम छैन । हामीले सडक विभाग र केन्द्र सरकारको ध्यानाकर्षण गराइरहेका छौँ ।”
दुवै वैकल्पिक सडकबाट यातायात सञ्चालन हुने व्यवस्था नगरे ठुलो चुनौती आउने थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पनि गरुङ्गा सवारीसाधन राजमार्गको बिग्रिएका स्थानमा चढ्ने अवस्था छैन । नगरपालिकाले सवारी सञ्चालन गर्न सधैँ मेसिन पठाउनुपर्ने बाध्यता छ । सरोकारवाला र नागरिकस्तरबाट राजमार्गका विषयमा चिन्ता व्यक्त हुनु स्वाभाविक हो । केन्द्र र प्रदेश सरकारले यो विषयमा बेलैमा ध्यान पुु-याउनुु पर्छ ।”
वैकल्पिक भनिएका सिमल गोलाई–तिल्केनी सडकबिचमा पर्ने जोगमाईखोलामा पुलको आवश्यकता छ । यो स्थानमा अहिले पुवाखोलामा कामविहीन भएको बेलिब्रिज राख्ने गरी विभागमा योजना पेस गरिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । यस्तै इलाम नगरपालिका बेलासे हुुँदै झापा जोड्ने फास्ट ट्र्याकमा पनि पुवाखोलामा पुलको अभाव रहेको जनाइएको छ । यी दुुई खोलामा पुल नहुने हो भने वैकल्पिक मार्गबाट समेत वर्षायाममा यातायात सञ्चालन हुन नसक्ने इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाल बताउनुुहुन्छ । वैकल्पिक सडकको माग गर्दै इलाममा नागरिकस्तरबाट पनि दबाब सिर्जना भइरहेको छ । मेची राजमार्गको बिग्रिएको खण्ड भने जमिन भित्रभित्रै पानी बग्ने भएकाले मर्मत कार्य निकै जटिल भएको विभिन्न अध्ययनले जनाउँदै आएका छन् ।