• १६ चैत २०८०, शुक्रबार

‘कीर्तिपुरको कला–संस्कृति संरक्षणमा जोड दिनेछु’

blog

काठमाडौँ, जेठ १२ गते । कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित राजकुमार नकर्मीले पदवहाली गरेसँगै कीर्तिपुर नगरवासीको स्वास्थ्योपचारमा ५० प्रतिशत सहुलियत दिने घोषणा गर्नुभएको छ । उहाँले आधारभूत आवश्यकताअन्तर्गत पर्ने स्वास्थ्योपचारलाई प्राथमिकतामा राखेर छुट गर्नेगरी कीर्तिपुरस्थित कीर्तिपुर मोडेल अस्पतालमार्फत नगरवासीको उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्न लागिएको बताउनुभयो । 

प्रमुख नकर्मीले भन्नुभयो, “नगरपालिका र अस्पतालबीच भएको छलफलमा कीर्तिपुर अस्पताल सकारात्मक देखिएको छ, यो सेवा छिट्टै कार्यान्वयनमा आउँछ । यसका लागि नगरवासी भएको प्रमाण भने चाहिन्छ ।” यस्तै नगरप्रमुख नकर्मीले नगरवासीलाई २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने पनि घोषणा गर्नुभएको छ । कीर्तिपुरका ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षण कार्य हिजोको व्यवस्थापनबाट छायामा परेको भन्दै उहाँले यसको संरक्षणका लागि आफूले योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कीर्तिपुरका ऐतिहासिक धरोहर, कीर्तिपुर दरबार, पोखरी, ढुङ्गेधारा, पाटीपौवा र मठमन्दिरको संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेका छन् । दरबार त भग्नावशेष नै भइसकेको भन्दै नगरपालिका प्रमुख नकर्मीले ऐतिहासिक धरोहरको संरक्षणका लागि छुट्टै नीति बनाएर भए पनि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कीर्तिपुर विगतमा पर्यटकीय नगरका रूपमा चिनिए पनि पछिल्लो समयमा यहाँका ऐतिहासिक धरोहर र मौलिक कला–संस्कृति लोप हुँदै गएसँगै विदेशी पर्यटक आउन छोडेका भन्दै उहाँले भन्नुभयो, “विदेशी पर्यटकलाई आकर्षित गर्न यहाँका मौलिक कला–संस्कृतिको संरक्षणमा नीतिगत रूपमै व्यवस्था गरिनेछ ।”

“कीर्तिपुरमा पहिले हाते मेसिनबाट सञ्चालित कपडा उद्योग थिए, जसमा थुप्रैले रोजगारी पाएका थिए तर अहिले छैन । कीर्तिपुरमा अहिले पनि उद्योग सञ्चालन गर्न चाहिने थप पूर्वाधार निर्माण गर्न सकिन्छ,” नगरप्रमुख नकर्मीले भन्नुभयो, “मेरो कार्यकालमै यहाँ उद्योग स्थापना गर्नेछु । कीर्तिपुरका सार्वजनिक जग्गामा औद्योगिकग्राम निर्माण गर्न सकिन्छ ।” उहाँले भन्नुभयो, “फोहोरमैलाको समस्याबाट कीर्तिपुरवासी पनि अछुतो नभएकाले काठमाडौँवासीले जे भोगेका छन्, यहाँ पनि उस्तै अवस्था छ । फोहोरमैलाको व्यवस्थापन गर्न त्यति सजिलो नभए पनि असम्भव चाहिँ छैन ।” 

फोहोरमैलाको व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन दुई योजना अगाडि सारेको भन्दै उहाँले भन्नुभयो, “पहिलो तत्कालीन योजनाअन्तर्गत कीर्तिपुरकै खाली ठाउँमा फोहोर व्यवस्थापन गर्ने र दीर्घकालीन व्यवस्थापनका लागि मल वा ग्यास प्लान्ट स्थापना हो ।” उहाँले तत्काल व्यवस्थापनका लागि चोभारको खाल्डोमा लैजान सकिने विषयमा सम्बन्धित वडाका अध्यक्षसँग छलफल गर्ने तयारी रहेको बताउनुभयो । 

अघिल्लो कार्यकालमा नगरभित्र बस्ने नागरिकबीच स्रोत वितरणमा विभेद भयो भन्ने गुनासो धेरै आएको भन्दै उहाँले भन्नुभयो, “विशेषगरी उपत्यका बाहिरबाट आएर कीर्तिपुरमा घर बनाएर बसेका ठाउँमा पूर्वाधार निर्माणमा उपलब्ध स्रोत वितरणमा केही विभेद भएको अनुभव मैले पनि गरेको छु । 

यहाँ आएर बसेपछि सबै नगरवासी समान हुन् । त्यो ठाउँको विकास गर्नुपर्ने दायित्व मेरो हुन्छ, त्यस विषयमा मबाट कुनै पनि प्रकारको विभेद भएको अनुभव हुन दिने छैन ।” कीर्तिपुरका प्रमुख क्षेत्रका पाटीपौवा, मन्दिर जीर्णोद्धार गर्नुपर्छ र यीबाहेक अन्य क्षेत्रमा पूर्वाधार निर्माण गर्दा जुनसुकै कुनामा बस्ने भए तापनि कीर्तिपुरका जनता भएकाले नगरले सेवा दिनुपर्छ भन्नेमा म सचेत रहनेछु, उहाँले थप्नुभयो । 

यसबाहेक कीर्तिपुर नगर प्राज्ञिक ज्ञान र अनुभवको थलो भएकाले ‘शैक्षिक हब’का रूपमा विकास गर्ने सोच बनाएको उहाँले बताउनुभयो । यस नगरमा रहेको सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर देशकै नमुना नगर बनाउन सकिने योजना बनाइएको पनि उहाँको भनाइ छ ।