• १० माघ २०८१, बिहिबार

पहिलेका डल्फिन सिकारी, अहिले संरक्षक

blog

डल्फिन संरक्षणकर्मी बाबुछोरा भोजराज श्रेष्ठ र विजयराज श्रेष्ठ । तस्बिर : चाँदनी आचार्य

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), माघ १० गते । कुनै समय ‘गुलेली बाजे’ उपनामले चर्चित संरक्षणकर्मी भोजराज श्रेष्ठ उमेरले ९० वर्ष पुग्नुभएको छ तर संरक्षणको कुरामा उहाँमा उत्तिकै जोस छ । उमेर बढेसँगै कान कम सुन्ने र बेला बेला बिर्सिने समस्या भए पनि उहाँले डल्फिन संरक्षणका कार्यक्रममा पुग्न छोड्नुभएको छैन । 

कुनै समय चर्चित सिकारीका रूपमा उहाँको नाम आउँथ्यो । मोहना नदीमा उड्ने माछा (डल्फिन) लाई ताकेर गुलेली हान्दै गर्दा एक जना विदेशी पर्यटकले त्यो डल्फिन भएको र त्यसको महत्व बुझाएपछि उहाँ संरक्षणमा जुट्नुभएको हो । 

त्यसयता श्रेष्ठले कहिलै सिकार गर्नुभएन बरु त्यसको संरक्षणमा जुट्नुभयो । उहाँ भन्नुहुन्छ, “संरक्षणको अभियानका क्रममा पाँच हजार थान गुलेली र छ हजारभन्दा बढी मट्याङ्ग्रा सङ्कलन गरेको थिएँ ।” बुवा भोजराजको संरक्षणप्रतिको समर्पणबाट नै उत्प्रेरित भएर छोरा विजयराज श्रेष्ठ पनि संरक्षणमै होमिनुभएको छ । कर्णाली र मोहना नदीलगायतका क्षेत्रमा डल्फिन संरक्षणका लागि बाबुछोराले समुदायस्तरमा सचेतना जगाउने काम गर्नुभएको छ । 

डल्फिन संरक्षणलाई अझ व्यवस्थित गर्न संस्थागत गतिविधि प्रभावकारी हुने महसुस गरेर उहाँहरू दुवैको सक्रियतामा डल्फिन संरक्षण केन्द्र स्थापना गरिएको छ । जसको अध्यक्ष भोजराज श्रेष्ठ हुनुहुन्छ भने सचिव विजयराज श्रेष्ठ हुनुहुन्छ । 

कैलाली जिल्लाको भजनी नगरपालिका–२ स्थायी ठेगाना भएका श्रेष्ठ बाबुछोराले वन, वातावरण र वन्यजन्तु, जलचरको संरक्षणमा गरेको कार्यबाट प्रभावित भएर अहिले सो क्षेत्रबाट धेरै युवा संरक्षणमा लागेको बताउँछन् । चराविद् हिरूलाल डङ्गौरासमेत आफू भोजराज र विजयराज श्रेष्ठबाट प्रेरित भएर संरक्षणको क्षेत्रमा लागेको बताउनुहुन्छ ।

विसं १९९२ पुस २१ गते जन्मिएका भोजराजले संरक्षणमा लाग्ने क्रममा देशविदेशमा हुने विभिन्न वातावरण संरक्षणसम्बन्धी गोष्ठी, कार्यक्रममा भाग लिएको बताउनुभयो । नेपालमा डल्फिन पाइन्छ भन्ने कुरालाई देशविदेशमा प्रचारप्रसार गर्न डल्फिन महोत्सव, डल्फिन दिवस मनाउनेलगायतका नयाँ नयाँ काम आफूले गरेको उहाँले अनुभव सुनाउनुभयो । अहिले पनि कर्णाली नदी र मोहना नदीमा आश्रित जलचर संरक्षणमा बाबुछोरा सक्रिय रूपमा लागेको छोरा विजयराज श्रेष्ठले बताउनुभयो । संरक्षणका क्षेत्रमा उहाँहरू दुवैले थुप्रै सम्मान तथा पुरस्कारसमेत पाउनुभएको छ ।