विश्वको सबैभन्दा उच्च शिखर नेपालमै मात्र छ । तेस्रो ध्रुवसमेत भनिने र विश्वले माउन्ट एभरेस्ट भनेर चिन्ने सगरमाथा नेपाललाई संसारमा चिनाउने अमूल्य प्राकृतिक निधि हो । हिन्दुकुश पर्वत शृङ्खलामा पर्ने सगरमाथासँगै असङ्ख्य हिमालको मूल स्वरूप भनेकै बाह्रैमास सेताम्मे हिउँ हो तर यताका वर्षमा हिउँ बिस्तारै पग्लँदै गइरहेको छ । विश्व तापमान वृद्धिले हिमाललाई गहिरो असर परिरहेको छ । यसले नेपाललगायतका पर्वतीय देश प्राकृतिक प्रकोपका सिकार हुँदै छन् । असोज १० देखि १२ (२०८१) को काठमाडौँ उपत्यका तथा वरपरको बाढी, पहिरो, डुबानले झन्डै ४६ अर्ब रुपियाँको क्षति भयो । कैयौँको ज्यान लियो । यो पछिल्लो प्रकोप त ताजा उदाहरण मात्र हो । हालै बेलायती संसद्मा समेत नेपाल जलवायु परिवर्तनको चर्को असरमा परेको बहस भयो । अब विश्वलाई जलवायु सङ्कटको विषय बुझाउँदै समाधानका निम्ति सामूहिक मार्ग पहिल्याउनु छ । त्यसकै निम्ति नेपालले सगरमाथा संवादको पवित्र कार्यक्रम अगाडि सारेर विश्व समुदायको ध्यानाकृष्ट गर्न लागको छ ।
नेपाली नयाँ वर्ष २०८२ को जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवाद हुने भएको छ । पाँच वर्षअघि नै तत्कालीन सरकारले सगरमाथा संवादको अवधारण अगाडि सार्दै तयारी आरम्भ गरेको थियो । तयारीकै क्रममा कोभिड–१९ को महाव्याधिले कार्यक्रम सम्पन्न हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिबेला अगाडि सार्नुभएको सगरमाथा संवाद कार्यक्रम फेरि उहाँ नै प्रधानमन्त्री भएका बेला सम्पन्न हुने भएको हो । प्रधानमन्त्री ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्वका विषयमा केन्द्रित हुने बताउनुभएको छ । नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवाद घोषणा समारोहमा प्रधानमन्त्री ओलीले संवाद, सहमति र सहकार्यका माध्यमबाट विश्वव्यापी समझदारी र सहयोगलाई बढावा दिने नेपालको नीति अनुरूप संवाद आयोजना गर्न लागिएको स्पष्ट पार्नुभयो । यस्तो संवाद साझा हित र मानव जातिको सामूहिक कल्याणको भावनाबाट प्रेरित हुने छ । यो पहिलो संवादको मूल विषय ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा केन्द्रित हुने छ । संयुक्त राष्ट्रसङ्घको हिमनदी संरक्षणका लागि अन्तर्राष्ट्रिय वर्ष २०२५ को आह्वानप्रति ऐक्यबद्धता व्यक्त गर्दै आयोजना गरिने यो संवादको क्षितिज विश्वव्यापी प्रकृतिको हुने छ ।
जलवायु परिवर्तन र यसको असरले विश्वलाई निरन्तर चिन्तित तुल्याउँदै गएको छ । अझ महत्वपूर्ण पक्ष त जलवायु परिवर्तनको कारक नबनेका नेपाल जस्ता विकासशील मुलुक सबैभन्दा बढी प्रताडित हुँदै छन् । औद्योगिक क्रान्तिपछि जीवाश्म इन्धनको बढी दोहन गरी विकास र समृद्धिको चरम शिखरमा पुगेका धनी मुलुक नै अहिलेको जलवायु सङ्कटको मूल कारक हुन् । तर अहिले पनि विश्वमा जीवाश्म इन्धनको खोज, अन्वेषण, उत्पादन, प्रयोग र व्यापारका हिसाबले अग्रणी मुलुक जलवायु परिवर्तन र यसका असरबारे सघन रूपले चिन्तित देखिन सकेका छैनन् । संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार समालेकै दिन पेरिस सम्झौताबाट अमेरिका फिर्ता भएको घोषणा गर्नुभयो । सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने अनि विश्व तापमानलाई पूर्वऔद्योगिक अवस्थामा फर्काउने विश्वव्यापी लक्ष्यमा यसले नराम्रो धक्का दिन सक्ने अवस्था उत्पन्न भएको विश्लेषण हुँदै छ । अमेरिकासँगै चीनसमेत बढी जीवाश्म इन्धन प्रयोग हुने अग्रणी मुलुकमा पर्छ । बढी जीवाश्म इन्धन प्रयोगकर्ता मुलुक अझै पनि अपेक्षा अनुरूप संवेदनशील नभइरहेका बेला नेपालले थालेको सगरमाथा संवाद विश्वकै निम्ति अनुकरणीय थालनी हुन सक्ने देखिन्छ ।
विश्वका धु्रवीय क्षेत्र तथा हिन्दुकुश पर्वतीय शृङ्खलाका हिमनदी तीव्र गतिमा पग्लँदै गएका छन् । हिउँले ढाकिएका सबै क्षेत्र तथा हिमालय जस्ता पृथ्वीका दुर्लभ स्रोतहरूको महत्व त्यही भूखण्डका निम्ति मात्र होइन, समग्र मानव जातिकै पर्यावरणीय अनुकूलनका निम्ति समान साझा सम्पत्ति हुन् । जलवायु परिवर्तन तथा यसको असरसँगै सगरमाथा संवादले नेपालले विश्वलाई नै उदाहरण दिन सकेका कतिपय विषयलाई पनि बिर्सन मिल्दैन । नेपालले आफ्नै पहलमा शान्ति प्रक्रियालाई निष्कर्षमा लगेको परिवेशमा विश्व समुदायलाई यो विषय पनि गहन रूपले चिनाउनु आवश्यक छ । विश्वका कतिपय भूभाग अहिले पनि अनेक कारणले अशान्त छन् । एकआपसमा युद्धसमेत भइरहेको छ । शान्तिको पवित्र भूमि नेपालले गौतम बुद्धको शान्ति सन्देशलाई समेत सम्प्रेषण गर्न सक्ने अवसर छ । समृद्ध नेपाल, सुखी नेपालीको देशीय आकाङ्क्षा पूरा गर्नसमेत सगरमाथा संवाद असाध्यै उपयोगी हुने देखिन्छ ।