• १२ असोज २०८१, शनिबार

एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्न निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १२ गते । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले एक महिनाभित्र आवश्यक परिमाणमा पाठ्यपुस्तक छाप्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ तर समितिको बैठकमा जनक शिक्षाले दिएको जानकारीअनुसार अझै कम्तीमा डेढ महिनामा मात्र आवश्यक पाठ्यपुस्तक छपाइ सम्भव छ ।

समितिले बुधबार जनक शिक्षा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीलाई बोलाई पाठ्पयुस्तक अभावबारे जानकारी लिएको थियो । बैठकपछि समितिका सभापति जयपुरी घर्तीले एक महिनाभित्र पुस्तक छापिसक्न निर्देशन दिइएको बताउनुभयो ।

जनक शिक्षा सामग्री केन्द्रले भने अबको डेढ महिनापछि मात्र सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेको छ । जनक शिक्षाले अब दैनिक ८० हजार थानसम्म पाठ्यपुस्तक छाप्ने दाबी गरेको छ । अझै ३५ लाख पाठ्यपुस्तक छाप्न बाँकी रहेको जनक शिक्षाको तथ्याङ्क छ । सोअनुसार आवश्यक सबै पाठ्यपुस्तक छाप्न करिब ४५ दिन लाग्नेछ ।

सङ्घीय संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार आयोजना गरेको बैठकमा जनक शिक्षा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीले आगामी असारको पहिलो साताभित्र पाठ्यपुस्तक विद्यार्थीका हातमा पु-याइसक्ने दाबी गर्नुभएको छ तर सांसदहरूले ती पदाधिकारीको भनाइ विश्वसनीय नरहेको बताउनुभयो ।

शिक्षा मन्त्रालयका सचिव प्रमिला वज्राचार्यले रुस र युक्रेन युद्धका कारण कागज अभाव भएकाले समयमा पाठ्यपुस्तक छाप्न नसकिएको तर्क गर्नुभयो । “एक करोड ९८ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने भएकोमा अहिलेसम्म एक करोड ६३ लाख थान छपाइ भइसकेको छ ।” उहाँले भन्नुभयो ।