गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्व समुदायलाई नेपाली हवाई आकाश सुरक्षित रहेको विश्वास दिलाउँदै सरकार उड्डयन क्षेत्रको विकास र सुधारमा अघि बढेको बताउनुभएको छ । राजधानीको पिङ्गलास्थानमा बुधबार बेस्ट वेस्टर्न प्लस होटेलको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हाम्रो देश धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले निकै धनी छ । नेपाल भित्रिने विदेशी पाहुनालाई प्रदान गरिने आतिथ्य र नेपालको आकाश सुरक्षित छ भनेर दिइने सन्देशमार्फत सरकार र निजी क्षेत्र मिलेर पर्यटकका गतिविधि बढाउन सकिन्छ ।”
सरकार र निजी क्षेत्र मिलेर पर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै उहाँले सरकारले पर्यटनमैत्री नीति बनाउँदै जाने र निजी क्षेत्रले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले सन् २०२५ देखि सन् २०३५ सम्म पर्यटक दशक मनाउने तयारी अनुसार कार्ययोजना बनिरहेको उहाँले जानकारी दिनुभयो । बेस्ट वेस्टर्न प्लसका अध्यक्ष रामेश्वर अर्यालले होटेल क्षेत्रको विकासले समग्र मुलुकको पर्यटक आगमनमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो ।आतिथ्य क्षेत्रमा पछिल्लो पटक ठुला लगानीका होटेल स्थापना हुने क्रम तीव्र गतिमा बढिरहेकाले यसले वैदेशिक लगानी र प्रविधि नेपाल भित्र्याउन सहयोग गर्दै लगेको उहाँले बताउनुभयो ।
नेपालका लागि अमेरिकका राजदूत डिन आर थम्प्सनले पर्यटनलक्षित पूर्वाधारको विकासमा बढ्दै गएको प्रतिस्पर्धाले पर्यटकीय गतिविधि र पर्यटकले पाउने सेवा सुविधाको गुणस्तरसमेत बढोत्तरी गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो । बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटेल ब्रान्ड हो । यो ब्रान्ड पहिलो पटक नेपाल भित्रिएको हो ।
करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाएको यस होटेलमा सुइट र डिलक्स गरी ८७ वटा कोठा रहेका छन् । होटेलमा स्विमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, एकै पटक आठ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने ब्याङ्क्वेट हल, फिटनेस सेन्टर, स्पालगायतका सुविधा छन् ।