भवानीदत्त भट्ट
कञ्चनपुर, असार ६ गते । कञ्चनपुरमा उत्कृष्ट तीन कृषकहरूलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित गरिएको छ । विगत लामो समयदेखि कृषि क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका तीन कृषकलाई सम्मानित गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको हो ।
शुक्रबार कृषि ज्ञान केन्द्रले एक कार्यक्रमको आयोजना गरी विगत लामो समयदेखि कृषि क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका कृष्णपुर नगरपालिका–५ का अर्जुन जेठारा, भीमदत्त नगरपालिका–१५ का सरस्वती पाण्डे र पुनर्वास नगरपालिका–६ का विमल भण्डारीलाई भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको हो ।
उत्कृष्ट तीन जना कृषकलाई नगद २५ हजार र प्रमाणपत्रसहित सम्मानित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख महेशचन्द्र जोशीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले उनीहरुलाई नगदसहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
विसं.२०६४ सालमा तीन कठ्ठा जमिनबाट केरा खेती थाल्नुभएका अर्जुन जेठाराले हाल ३० बिघा जमिनमा केरा खेती गर्दै आउनुभएको छ । यस्तै, तीन वर्ष पहिले एक गाईपालनबाट व्यवसाय सुरु गर्नुभएका भीमदत्त नगरपालिका १५ का सरस्वती पाण्डेले हाल ३६ माउ भैँसी र गाई पालन गर्दै आउनुभएको छ ।
यस्तै, पुनर्वास नगरपालिका ६ का विमल भण्डारीले १० वर्ष पहिले इजरायलमा साना किसानबाट तालिम लिनुभएको थियो । उहाँले हाल केरा खेतीसँगै खाद्यान्न बालीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।