काठमाडौँ, माघ ९ गते । चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड आगामी माघ १२ गते हुने भएको छ । नेपाल भेटेनरी सङ्घको आयोजनामा हुने दौडको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
दौडमा खुला हाफ म्याराथन, १० किमी पुरुष, पाँच किमी महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि पाँच किमी (छात्र), तीन किमी (छात्रा) र ह्विलचियर (महिला र पुरुष) दौड तथा बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दौड त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएर विभिन्न स्थान हुँदै सोही ठाउँमा पुगेर सकिनेछ । दौडमा सबै विधामा गरी आठ हजार धावकको सहभागिता रहने आयोजकले जनाएको छ ।