गजेन्द्र गुरुङ
खजुरा, माघ ९ गते । बाँकेमा पछिल्लो समयमा उद्योग तथा फर्महरु खारेज गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । चालु आवको पुस मसान्तसम्म छ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् ।
कार्यालयका प्रमुख प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार यस चालु आवको छ महिनामा उद्योगतर्फ १०८ र वाणिज्यतर्फ २३८ गरी जम्मा ३४६ उद्योग तथा फर्म खारेज भएका हुन् । “यो चालु आवको छ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलक लगायतका उद्योगतर्फ १०८ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म २३८ गरी जम्मा ३४६ उद्योग तथा फर्महरु खारेज भएका छन ।” बुढाथोकीले भन्नुभयो ।
प्रमुख उद्योग अधिकृत बुढाथोकीका अनुसार छ महिनाको समय अवधिमा विभिन्न प्रकृतिका ३६८ नयाँ उद्योग र वाणिज्यतर्फ ४१० नयाँ फर्म दर्ता भएका छन् । “लगतकट्टा (खारेजी)को साथसाथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदै आएका छन् तर पछिल्ला केही वर्षदेखि लगातार खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ ।” बुढाथोकीले भन्नुभयो ।
“कार्यालयको तथ्याङ्कमा विगत चार÷पाँच वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ भने खारेज गर्नेको सङ्ख्या बढेको छ ।” बुढाथोकीले भन्नुभयो, “आर्थिक मन्दी, बैङ्कको चर्को ब्याज, खुला सिमाना लगायतका कारण भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरुले गुनासो गर्नुहुन्छ ।”
“कतिपय युवाले उद्योग सञ्चालन गर्नका लागि ऋणधन गरेर उद्योग स्थापना त गर्नुभयो तर विविध कारणले गर्दा उहाँहरुले उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न सक्नुभएन ।” बुढाथोकीले भन्नुभयो, “त्यसपछि उहाँहरु उद्योग खारेज गरेर वैदेशिक रोजगारीका लागि विदेश जाने गर्नुहुन्छ, यस कारणले पनि पछिल्लो समयमा उद्योग खारेजी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।”
कार्यालयका प्रशासन अधिकृत सुशील ढकालका अनुसार चालु आवको छ महिनाको समयमा उद्योगतर्फ ६२७ र वाणिज्यतर्फ १२५६ गरी १८८३ फर्म नवीकरण भएका छन् । त्यसैगरी पुँजी वृद्धि, ठाउँसारी, नाम परिवर्तन, नामसारी, ठेगाना परिवर्तनलगायतका उद्योगतर्फ ३४० र वाणिज्यतर्फ ४७७ गरी ८१७ फर्म अन्य संशोधन गरिएको छ ।
नयाँ दर्ता÷स्थापना भएका उद्योगहरुमा १०७ महिला र २८६ जना पुरुष गरी जम्मा ३९३ जना उद्यमी छन् भने ६२० जना महिला र ८८१ पुरुष गरी कुल १५०१ जनाले रोजगारी पाए छन् । नयाँ उद्योग दर्ता, नवीकरण, संशोधन लगायतबाट यस चालु आवको पुससम्ममा उद्योगतर्फ ४० लाख ४४ हजार रुपियाँ र वाणिज्यतर्फ ७६ लाख ६१ हजार ५८५ गरी एक करोड १७ लाख पाँच हजार ५८५ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नयाँ दर्ता गरिएका उद्योगमा ८१ करोड ६५ लाख ७५ हजार रुपियाँ र वाणिज्यतर्फ ५७ करोड ९५ लाख ३१ हजार रुपियाँ बराबरको पुँजी लगानी छ ।
कार्यालयको गत आर्थिक वर्ष ०८०–०८१ को तथ्याङ्कअनुसार विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको हो । गत आवमा विभिन्न प्रकृतिका ७६० नयाँ उद्योग दर्ता भएका थिए भने २३० उद्योग खारेज भएका थिए ।
आर्थिक वर्ष ०७९–०८० मा ८७६ उद्योग दर्ता भएका थिए भने १६० उद्योग खारेजी भएका थिए । त्यसैगरी आर्थिक वर्ष ०७८–०७९ मा १७ सय १२ उद्योग दर्ता भएका थिए सो वर्षमा १३८ उद्योग खारेज भएका थिए । आर्थिक वर्ष ०७७–०७८ मा २३ सय ४१ उद्योग दर्ता भएकोमा ९६ उद्योग खारेज भएका थिए ।
त्यसैगरी वाणिज्यतर्फ पनि नयाँ फर्म दर्ता हुनेभन्दा खारेज गर्नेकै सङ्ख्या बढिरहेको छ । उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष ०८०–०८१ मा प्राइभेट फर्म ६३४ र साझेदारी फर्म १४ गरी कुल ६४८ नयाँ फर्म दर्ता भएका थिए । आर्थिक वर्ष ०७९–०८० मा प्राइभेट फर्म ८५८ र साझेदारी फर्म १६ गरी कुल ८७४ फर्म दर्ता भएको बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष ०८०–०८१ मा प्राइभेट फर्म ४५० र साझेदारी फर्म १२ गरी ४६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष ०७९–०८० मा ३१२ प्राइभेट फर्म खारेजीमा परेका थिए । केही वर्षयता अघिल्लो आवमा भन्दा नयाँ आवमा क्रमशः दर्ता हुने क्रम घट्दै गएको हो भने खारेजी गर्ने क्रम बढ्दै गएको हो । कार्यालयको तथ्याङ्कले विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको देखाएको हो ।