हरिप्रसाद कोइराला
उर्लाबारी, माघ ९ गते । विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालले नेपालमै पहिलो पटक ४० सेकेन्डमा क्यान्सरको उपचार गर्ने प्रविधि भित्र्याएको छ । नोबेल अस्पतालले गत असोजदेखि क्यान्सरको उपचार सेवा दिन थालेको हो । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक एवम् प्रतिनिधि सभाका सदस्य डा. सुनीलकुमार शर्माले यो प्रविधिमा क्यान्सरको उपचार गर्ने नोबेल अस्पताल पहिलो भएको बताउनुभयो ।
डा. शर्माका अनुसार दक्षिण एसियामा यो प्रविधि भित्र्याउने नोबेल नवौं अस्पताल हो । भारतका अस्पतालमध्ये मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा एउटा, म्याक्स अस्पतालमा तीन वटा, नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा २ गरी ६ वटा मात्र जडान गरिएको छ । अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको एज ‘इडिजीइ’नामक उपकरण नेपालको हकमा नोबेल मेडिकल कलेजमा मात्र उपलब्ध छ ।
नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुनेछ । डा. शर्माले नोबेल मेडिकल कलेजले तीन अर्ब ४० करोड रुपियाँ खर्च गरेर क्यान्सर अस्पतालको छुट्टै व्यवस्थापन गरेको बताउनुभयो । यो खर्चबाट नयाँ भवन अत्याधुनिक उपकरण र दक्ष जनशक्ति परिचालन भइरहेको शर्माको भनाइ छ । नोबेलले हाल सयभन्दा बढी क्यान्सरका बिरामीको उपचार गरिरहेको छ ।
अस्पतालका सञ्चालक डा. शर्माले यो मेसिन मात्र ५५ करोड रुपियाँमा भित्र्याएको जानकारी दिनुभयो । सरकारी झन्झट ब्योहोर्नु परेको थिएन भने एक वर्ष अघि नै हामी मेसिन भित्र्याउने थियौं । तर केही प्रक्रियागत समस्याले गर्दा ढिलो मात्र आउन सक्यो ।
नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिएको छ । विपन्न नागरिक औषधी उपचार कोषअन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गर्दछ ।
मोरङ ३ बाट प्रतिनिधि सभामा निर्वाचित डा. सुनीलकुमार शर्माले आफ्नो निर्वाचन क्षेत्रका सबै बिरामीलाई बिराटनगरको नोबेल अस्पताल र काठमाडौंको काठमाडौं मेडिकल कलेजमा निःशुल्कदेखि ५० प्रतिशत छुटमा उपचार गराइरहेको छ । काठमाडौं र विराटनगरका अस्पतालमा निर्वाचन क्षेत्रका बिरामीको निःशुल्क उपचार मात्र होइन, कुरुवाको आवास र खानाका लागि छुट्टै प्रबन्ध मिलाएको छ ।