रमेश विश्वकर्मा
गुल्मी, माघ ९ गते । गुल्मीको धार्मिक, ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पश्चिम क्षेत्रकै एक पवित्र स्थल रेसुङ्गाधाम धार्मिकसँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो ।
धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा पौराणिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक रुपले प्रसिद्ध तीर्थस्थलका रुपमा परिचित छ । पछिल्लो समय पर्यटकको आकर्षण केन्द्र बनेको रेसुङ्गा हरियाली दृश्य हेरेर पर्यटक रमाउने गर्छन् । धार्मिक तथा पर्यावरणले महत्त्व बोकेको रेसुङ्गालाई विभिन्न भौतिक संरचना निर्माण गरी चिटिक्क पारिएको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि रेसुङ्गा नगरपालिकाले गत वर्षदेखि ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानको शुभारम्भ गरेको थियो । नगरपालिकाको यस अभियानले आन्तरिक तथा बाह्य पर्यटकहरु रेसुङ्गा क्षेत्रमा घुम्न आउने गरेका छन् ।
रेसुङ्गामा रहेको महापोखरीको पवित्र जल स्नान गरी पुण्यलाभ लिई महापोखरीस्थित पशुपति शिवलाय, भोलेनाथ मन्दिर, माथि रहेका गरुडस्थान, रामकुवा, यज्ञशाला मन्दिर, राधाकृष्ण मन्दिर, सिद्धस्थान मन्दिर र विष्णुपादुका लगायतको दर्शन गरी भ्युटावरबाट तम्घासबजारसँगै छिमेकी जिल्लाका गाउँबस्ती र हिमालहरुको सुन्दर दृश्यावलोकन गरी भरपुर आनन्द लिन सकिन्छ ।
रेसुङ्गा क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडककको सहज पहुँच पुगेको छ । तम्घास बजारदेखि रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे भएकाले रेसुङ्गा पुग्ने पर्यटकलाई सवारीसाधनमा यात्रा गर्न सहज बन्दै गएपछि रेसुङ्गा पुग्ने धार्मिक पर्यटकको सङ्ख्यामा पनि समेत वृद्धि भएको छ । पर्यटनबाट समुन्नतिको आधार तय गर्न सकिने उहाँले बताउनुभयो ।